Logo

मुख्य समाचार

नक्कली पीएचडी पेश गरी सह–परीक्षा नियन्त्रक बनेका प्रसाईसहित तीन प्राध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को सह–परीक्षा नियन्त्रक पदमा नक्कली शैक्षिक योग्यता पेश गरी नियुक्ति लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले त्रिवि क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, विराटनगरका सह–परीक्षा नियन्त्रक डिल्लीराम प्रसाईलाई मुख्य प्रतिवादी बनाएर उनलाई सिफारिस गर्ने छनोट समितिका संयोजक प्रा.डा. जया लक्ष्मी प्रधान तथा सदस्य प्रा.डा. मोतिलाल शर्मा र प्रा.डा. मेघराज पोख्रेलविरुद्ध मुद्दा दायर गरेको हो।

२०८१ भदौमा त्रिवि रजिष्ट्रारको कार्यालयले माग गरेको सह–परीक्षा नियन्त्रक पदका लागि प्रसाईले पीएचडी गरेको भन्दै झुट्टा विवरण पेश गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ। शोधपत्र परिमार्जनका लागि समय रहेको अवस्थामा उनले विद्यावारिधिको प्रमाणपत्र नलिई आवेदन दिएका थिए। प्रसाईले बायोडाटा, नेम प्लेट, लेटरप्याड र विभिन्न औपचारिक कार्यक्रममा समेत आफूलाई ‘डा.’ का रूपमा परिचय दिने गरेको आयोगको भनाइ छ।

छनोट समितिले समेत सोही नक्कली विवरणका आधारमा प्रसाईलाई सिफारिस गरेको प्रमाणित भएपछि आयोगले उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ का दफा १३, १५, १९ (२) र २२ अनुसार कैद र जरिवानाको मागसहित मुद्दा दायर गरेको हो।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : ०० बजे