Logo

अर्थ

नेपालमा उत्पादन भएको तोरीको तेल र जुत्ताको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै



पर्सा । नेपालमा उत्पादन भएका जुत्ता तथा चप्पल अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बन्दै गएका छन् ।

नेपालमा उत्पादन भएका स्पोर्ट सुज तथा छालाका जुत्ता गुणस्तरीय हुनुका साथै उपभोक्तालाई सस्तो पर्ने भएकाले विदेशी बजारमा नेपाली जुत्ताको माग बढ्दै गएको छ ।

देशको मुख्य व्यापारिक नाका वीरगन्जबाट पछिल्लो समय भारत तथा तेस्रो मुलुकतर्फ नेपालबाट जुत्ताको निर्यात करिब तीन गुणाले वृद्धि भएको छ ।

गत आर्थिक वर्षको पहिलो चौमासिकमा वीरगन्ज नाकाबाट ६ करोड रूपैयाको १ लाख ४६ हजार जोड जुत्ता निर्यात भएकोमा चालु आवको सोही अवधिमा २३ करोड रूपैंयाँका ५ लाख ८१ हजार जोडभन्दा बढी जुत्ता निर्यात भएको छ ।

नेपालमा उत्पादन भएको जुत्ता तथा चप्पल अन्यको तुलनामा गुणस्तरीय र सस्तो पर्ने भएकाले यसको माग दिनानुदिन बढ्दै गएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी मात्रिका भट्टराईले जानकारी दिए ।

उनले गत आवको पहिलो चौमासिकको तुलनामा चालु आवमा १७ करोड मूल्य बढीका ४ लाख ३४ हजार जोडभन्दा बढी जुत्ताको निर्यात बढ्नुको मुख्य कारण माग बढ्नु नै भएको बताए ।

त्यस्तै, नेपालमा उत्पादन भएको तोरीको तेलको गुणस्तर अत्यन्त राम्रो र अन्य देशको तेलको तुलनामा सस्तो पर्न जानाले यसको निर्यात समेत बढ्दै गएको भन्सार अधिकृत भट्टराईले जानकारी दिए ।

वीरगन्ज नाकाबाट गत आवको पहिलो चौमासिकमा २४ लाख रूपैयाको ५ हजार ७ सय ८३ लिटर तेल निर्यात भएकोमा चालु आवको सोही अवधिमा ४३ करोड रूपैंयाँको २५ लाख ७ हजार ४ सय २५ लिटर तोरीको तेल निर्यात भएको उनले बताए ।

नेपालमा उत्पादन भएको तोरीको तेल सबैभन्दा बढी भारतमा निर्यात हुने गरेको भन्सार कार्यालयका कर्मचारीहरूले बताएका छन् । भारतमा उत्पादन हुने तोरी तेलको तुलनामा नेपाली तेलको गुणस्तर राम्रो भएकाले दिनानुदिन यसको माग बढ्दै गएको कर्मचारीहरूले बताएका छन् ।

त्यस्तै, नेपालबाट पछिल्लो समयमा भारत तथा तेस्रो मुलुकतर्फ हेभी सवारी साधनको निर्यात पनि बढ्दो छ । विदेशबाट नेपाल भित्रिएका डोजर तथा एक्साभेटरको निर्यात वीरगन्ज नाकाबाट बढेको छ ।

गत आवको पहिलो चौमासिकमा ४२ करोड मूल्यका १ सय १६ थान डोजर तथा एक्साभेटर निर्यात भएकोमा चालु आवमा ४७ करोड मूल्यका १ सय २२ थान हेभी सवारी साधन निर्यात भएको भन्सारले जनाएको छ ।

देशको प्रमुख व्यापारिक नाका वीरगन्ज हुँदै भारत तथा तेस्रो मुलुकतर्फ विभिन्न वस्तुको निर्यात १ सय ४४ प्रतिशतले बढेको छ । गत आवको पहिलो चौमासिकमा १३ अर्ब ६४ करोडका विभिन्न मालवस्तु निर्यात भएकोमा चालु आवको सोही अवधिमा ३३ अर्ब २१ करोडका मालवस्तु निर्यात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ५ : २७ बजे