Logo

मुख्य समाचार

झापामा ई–पासपोर्टमा उमेर गडबडी गरी घुस लिएर जारी: १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको गौरीगन्जस्थित इलाका प्रशासन कार्यालयमा ई–पासपोर्ट जारी गर्ने प्रक्रियामा घुस लिएर उमेर गडबडी गरिदिएको आरोपमा १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

मंगलबार दायर गरिएको मुद्दामा कार्यालयका तत्कालीन प्रमुख चूडामणि आपगाईंसहित तत्कालीन नायब सुब्बा रविन कुमार राजवंशी, कम्प्युटर अपरेटर आकाश मगर, कार्यालय सहयोगी जीवनकुमार दाहाल तथा तत्कालीन प्रशासकीय अधिकृतहरू लक्ष्मीप्रसाद खरेल र केशवप्रसाद रिजाल समावेश छन्। त्यसैगरी राहदानीवाहकहरू विनोद कुँवर, सिमान्त विश्वकर्मा, गोविन्दप्रसाद ढुंगेल र बलराम महतोसमेत मुद्दामा प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ।

सेवाग्राहीसँग अनलाइनमार्फत रकम असुल गरी राहदानी सिफारिस गर्ने, उमेर घटबढ गरिदिने तथा रकम लिनुको विषय बाहिरिन सके राहदानी ब्लक गरिदिने धम्की दिने गरेको उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानपछि आरोपितहरूले गैरकानुनी रकम लिएर राहदानीमा उमेर हेरफेर गरी ई–पासपोर्ट बनाउने कार्यमा संलग्न रहेको पुष्टि भएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

अख्तियारले दायर गरेको मुद्दामा सम्बन्धित व्यक्तिहरूलाई कैद तथा जरिवानाको सजाय माग गरिएको छ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ४ : ५० बजे