काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बिदा गर्न आग्रह गरेका छन्।
शनिबार मंसिर ६ गते काठमाडौंको भृकुटीमण्डपमा वाग्मती प्रदेश कमिटीले आयोजना गरेको सभामा ओलीले केही ‘जेनजी’ समूहले राष्ट्रपति समक्ष सरकार हटाउन माग गरेको दाबी गर्दै सोही आधारमा राष्ट्रपति कदम चाल्नुपर्ने बताएका छन्।
ओलीका अनुसार जेनजी समूहले हालको सरकार आफ्नो नभएको भन्दै राष्ट्रपतिकहाँ सरकार हटाउन आग्रह गरेको छ। उनी भन्छन्, “अस्ति जेनजीको मागअनुसार सरकार जडान भयो भने अहिले उनीहरूको मागअनुसार बिदा किन नदिने?”
उनले संविधानले अन्तरिम सरकार हटाउन अनुमति नदिने तर्क अहिले अघि सारिए पनि सरकार गठनका बेला भने सोही आधार विचार नगरिएको आरोप लगाए।
ओलीले वर्तमान राजनीतिक अवस्थाबाट निस्कन संसद् पुनर्स्थापनाकै मार्ग उचित भएको पनि बताए।










प्रतिक्रिया