काठमाडौं । नेपाली कांग्रेस आगामी निर्वाचनमा सहभागी हुने अन्तिम तयारीमा लागेको छ। केन्द्रीय समितिको लगातार चलिरहेको वैठकमा महाधिवेशन चुनावअघि गर्ने कि पछि गर्ने भन्ने मुख्य विवाद भने अझै समाधान भएको छैन।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा चुनावअघि महाधिवेशन आवश्यक रहेको अडानमा रहेकाले पार्टी पुनर्गठनबिना निर्वाचनमा जान नसकिने भन्दै आएका छन्। तर, सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष भने चुनावअघि महाधिवेशन नगर्ने अडानमा अडिग छ।
यही विवादका कारण २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनबारे कांग्रेसले औपचारिक निर्णयमा पुग्न ढिलाइ भइरहेको छ। निर्वाचन आयोगमा अन्य दलले दल दर्ता प्रक्रिया सुरु गरिसकेको भए पनि कांग्रेस अहिलेसम्म दर्ताका लागि गएको छैन।
आज दिउँसो १ बजे बस्ने केन्द्रीय समितिको बैठकमा माघमा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा औपचारिक रूपमा सहभागिता जनाउने निर्णय हुने एक नेताले बताएका छन्।
सभापति देउवाले पनि चुनावमा जाने निर्णय अब ढिलाइ गर्न नहुने बताउँदै भोलिमै दल दर्ताका लागि कांग्रेस नेताहरूलाई आयोगमा पठाउने तयारी गरेको स्रोतले जानकारी दिएको छ।










प्रतिक्रिया