Logo

समाचार

सामाजिक सञ्जालको दुरुपयोगले सुरक्षा चुनौती गम्भीर बन्दै : आईजीपी कार्की



काठमाडौँ — प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएसँगै देशमा सुरक्षा चुनौती गम्भीर बन्दै गएको बताएका छन्। अपराध अनुसन्धान विभागको ७०औँ स्थापना दिवसका अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उनले डिजिटल माध्यममार्फत हुने लागूऔषध दुव्र्यसन, क्रिप्टोकरेन्सीसम्बन्धी अवैध कारोबार, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या प्रोत्साहन, मानव बेचबिखन, आर्थिक तथा अन्तरदेशीय संगठित अपराधजस्ता घटनाले जटिलता बढाएको बताए।

उनका अनुसार यस्ता अपराध नियन्त्रणका लागि अनुसन्धान क्षमताको विस्तार र विशिष्टीकृत तालिम अपरिहार्य बनेको छ। कार्कीले फैसला कार्यान्वयन, फरार अभियुक्तको खोजी तथा द्रुतगतिमा परिणाममुखी अनुसन्धानलाई प्राथमिकता दिन सातै प्रदेशका टोलीलाई निर्देशन दिए। उनले लामो समयदेखि पेन्डिङमा रहेका मुद्दाको छानबिनलाई पनि तीव्र बनाउँदै प्रमाणमुखी र वैज्ञानिक अनुसन्धानले अपराधीलाई कानुनी दायरामा ल्याउन मद्दत गर्ने बताए।

नवनियुक्त आईजीपी कार्कीले पीडितलाई न्याय दिलाउने प्रक्रियामा दक्षता वृद्धि गर्दै प्रहरीप्रतिको जनविश्वास सुदृढ बनाउन संगठन अझ सक्रिय र जिम्मेवार हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) सुशीलसिंह राठौरले अपराध नियन्त्रणको वर्तमान अवस्था, चुनौती र समाधानका उपायबारे धारणा राखे।

प्रकाशित मिति : १ मंसिर २०८२, सोमबार  ५ : ०३ बजे