Logo

समाचार

सशस्त्र प्रहरी–एसएसबी द्विपक्षीय नवौँ समन्वय बैठक सम्पन्न


३० कार्तिक २०८२, आइतबार  

46
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी)बीच भारतको नयाँ दिल्लीमा कात्तिक २६ देखि २८ गतेसम्म आयोजित द्विपक्षीय नवौँ समन्वयात्मक बैठक सम्पन्न भएको छ। बैठकमा सीमा अपराध नियन्त्रण, लागुऔषध ओसारपसार, चोरी–निकासी तथा पैठारी, अवैध आवतजावत रोकथाम, सूचना तथा तालिम आदानप्रदान, संयुक्त सीमा गस्ती र सीमा सुरक्षाबारे समन्वय तथा सहकार्य सुदृढीकरणका विषयमा छलफल गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

बैठकमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र एसएसबी महानिर्देशक संजय सिंघलले नेतृत्व गरेका थिए। गत वर्ष मंसिरमा काठमाडौंमा सम्पन्न आठौँ समन्वय बैठकबाट पारित एजेन्डाको कार्यान्वयन अवस्थाबारे समेत समीक्षा गरिएको र आगामी रणनीतिक प्राथमिकतामा छलफल भएको सशस्त्र प्रहरीले जनाएको छ।

बैठकमा सहभागिता जनाउन महानिरीक्षक अर्यालसँगै अतिरिक्त महानिरीक्षक गणेशबहादुर ठाडामगर, नायब महानिरीक्षक दीपक रेग्मी, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रामप्रसाद दास, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्य, परराष्ट्र मन्त्रालयका उपसचिव विजयराज तन्डुकार र सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज पौडेल कात्तिक २५ गते भारत प्रस्थान गरेका थिए।

बैठक सकिएपछि महानिरीक्षक अर्याल कात्तिक २९ गते स्वदेश फर्किएका छन्।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १२ : ३१ बजे