Logo

राजनीति

कांग्रेस कार्यसम्पादन समिति बैठक जारी, महाधिवेशन मितिमा सहमति खोज्दै


२८ कार्तिक २०८२, शुक्रबार  

46
Shares

काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा जारी छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय समितिबाट एकीकृत निर्णय निकाल्ने उद्देश्यसहित बैठक आह्वान गरेका हुन्।

बैठकमा आगामी महाधिवेशनको कार्यतालिका, विशेष वा नियमित महाधिवेशन गर्ने विषय र राष्ट्रिय राजनीतिक मुद्दामा पार्टीको आधिकारिक धारणा बनाउने प्रस्तावमाथि छलफल भइरहेको छ।

कात्तिक १४ देखि १७ सम्म रोकिएको केन्द्रीय समिति बैठक बोल्ने क्रम सकिएपछि फेरि अनौपचारिक रूपमा अघि बढेको छ। महाधिवेशनको प्रकार र मिति निर्धारण मुख्य विवादको रूपमा रहेको छ। “विशेष कि नियमित” भन्ने विवाद अहिले “पुस कि वैशाख”मा महाधिवेशन गर्ने भन्नेमा केन्द्रित भएको नेताहरू बताउँछन्।

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नियमित महाधिवेशन सम्भव नभए मंसिरभित्र विशेष महाधिवेशन गर्नुपर्ने अडान राखेका छन्। नेता डा. शेखर कोइरालाले भने तत्काल नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरी सोहीअनुसार अघि बढ्नुपर्ने मत व्यक्त गरेका छन्। उनले पुसभित्र कार्यतालिका तय गरी चुनाव प्रभावित नहुनेगरी कार्यान्वयन गर्ने प्रस्ताव अघि सारेका छन्।

कार्यवाहक सभापति खड्कानिकट २५ केन्द्रीय सदस्यले चुनावअघि नै नियमित महाधिवेशन गर्नुपर्ने मागसहित ध्यानाकर्षण पत्रसमेत बुझाएका छन्।

यसैबीच, सभापति शेरबहादुर देउवानिकट समूहले चुनावअघि महाधिवेशनमा जाने हो भने पार्टीलाई प्रतिकूल असर पर्ने दाबी गर्दै चुनावपछि मात्र महाधिवेशन गर्नुपर्ने अडान राखेको छ। उनीहरूले वैशाख २७–३० को प्रस्तावित मितिलाई समर्थन गर्ने र हस्ताक्षर फिर्ता नलिए विशेष महाधिवेशन स्वीकार गर्न सक्ने संकेत गरेका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : २५ बजे