Logo

मुख्य समाचार

डोल्पामा चिसोका कारण अलपत्र पाँच प्रहरी हेलिकोप्टरमार्फत उद्धार


२८ कार्तिक २०८२, शुक्रबार  

23
Shares

काठमाडौं । डोल्पामा अत्यधिक चिसो र हिमपातका कारण अलपत्र परेका पाँच प्रहरीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला प्रहरी कार्यालयमा स्थानान्तरणका लागि तीनदिने पैदल यात्रामा निस्किएका उनीहरू चिसो र खराब मौसमले बाटैमा रोकिएका थिए।

यात्राक्रममा बढ्दो चिसो, लगातारको हिमपात र दुर्गम भू–भागका कारण स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनीहरूसँगको सम्पर्क समेत कठिन बनेको प्रहरीले जनाएको छ। घटना जानकारी पाएपछि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाली सेनासँग समन्वय गरी तत्काल उद्धार व्यवस्था मिलाउन निर्देशन दिएका थिए।

सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएका सहायक निरीक्षक देवदत्त पाण्डे, वरिष्ठ हवल्दार मणिराज जोशी, हवल्दार जनकबहादुर कार्की, तथा प्रहरी जवान नवराज भट्ट र नरेन्द्र भट्टलाई सुर्खेत पुर्‍याइएको छ। कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उनीहरूको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ३ : ५७ बजे