Logo

समाचार

सञ्चारमन्त्रीको कोरियास्थित दूतावासलाई नेपालीको हितमा सक्रिय हुन निर्देशन


२८ कार्तिक २०८२, शुक्रबार  

0
Shares

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेका नेपाली नागरिकका हक–हित संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्न सिओलस्थित नेपाली दूतावासलाई निर्देशन दिएका छन्।

दूतावासको अवलोकनका क्रममा मन्त्री खरेलले कोरियामा रहेका नेपालीको समस्या समाधान, अधिकार सुनिश्चितता तथा सेवा–सुविधाको सहजीकरणमा दूतावासले ‘अभिभावक’को भूमिकामा काम गर्नुपर्ने आवश्यकता औँल्याए।

दूतावासको कार्यशैलीबारे उठ्दै आएका गुनासाहरू उल्लेख गर्दै उनले नेपाल–कोरिया सम्बन्ध सुदृढ गर्न, लगानी आकर्षित गर्ने वातावरण बनाउन तथा दुई देशबीचको आपसी हितका क्षेत्रमा पहल बढाउन राजदूत र अधिकारीलाई आग्रह गरे।

राजदूत डा. शिवमाया तुम्बाहाम्फेले सीमित जनशक्ति तथा केही एनआरएनए विवादका कारण कार्यसम्पादन प्रभावित भएको बताउँदै नेपाल र नेपालीका हितमा काम गर्न दूतावास प्रतिबद्ध रहेको प्रतिक्रिया दिइन्।

मन्त्री खरेलले सिओल–काठमाडौं हवाई उडान पुनः सञ्चालनका लागि पहल गर्न दूतावासलाई अनुरोध गरे। साथै, कोरियामा कार्यरत नेपाली युवाले झेलिरहेका मानसिक स्वास्थ्यसम्बन्धी समस्याको समाधानमा दूतावास सक्रिय हुनुपर्नेमा जोड दिए। उनले दूतावासमा आवश्यक दरबन्दीका अनुसार थप जनशक्ति पठाउन सरकार तर्फबाट पहल गरिने पनि बताए।

उनले ‘जेनजी’ प्रदर्शनपछि नेपाल स्थिरता र निर्वाचन प्रक्रियातर्फ उन्मुख भएको सन्देश कूटनीतिक नियोगमार्फत प्रवाह गर्नुपर्ने धारणा राखे।

मन्त्री खरेल कात्तिक २५ गतेदेखि सिओलमा भइरहेकाे ११औँ ‘ग्लोबल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोरिया गएका छन्।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १२ : २३ बजे