Logo

मुख्य समाचार

कोसीका पूर्वमन्त्रीको गाडीको ठक्करबाट एकजनाको मृत्यु


२७ कार्तिक २०८२, बिहिबार  

23
Shares

विराटनगर — मोरङको ग्रामथान गाउँपालिकामा बिहीबार कोसी प्रदेश सरकारको गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

ग्रामथान–५ मा को १ झ ६५० नम्बरको सरकारी स्कोर्पियो गाडीले को ९ प ७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ग्रामथान–५ निवासी करिब ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

उक्त गाडी कोसी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्र आङ्बोले प्रयोग गर्दै आएका थिए। दुर्घटनाको समयमा भने उनी गाडीमा थिएनन्।

ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उद्धार गरी विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। उपचारका क्रममा अपराह्न उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

गाडी चालक पाँचथर फाल्गुनन्द गाउँपालिका–१ का करिब ४० वर्षीय गम्भीरमान सार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

पूर्वमन्त्री आङ्बोले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कानुनी प्रकृयामा सहयोग गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  ६ : ४० बजे