काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रका निर्णयहरूमा बहुमतको आधारमा सहमति जनाउँदै अघि बढ्नु आफूले गरेको ठूलो गल्ती भएको स्वीकार गरेका छन् ।
बिहीबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै थापाले पार्टीभित्र उठेका विवाद र निर्णयका क्रममा आफूले पर्याप्त अडान लिन नसकेको बताएका हुन् ।
“स्थानीय तहको टिकट वितरणदेखि गठबन्धनसम्मका विषयमा मैले विरोध गरे पनि अन्ततः बहुमतको निर्णय मानेँ,” थापाले भने, “त्यो नै मेरो गल्ती भयो । मैले घुँडा धसेर मान्नु हुँदैनथ्यो, अडान लिनैपर्थ्यो ।”
उनले पार्टीभित्र संवाद र आलोचनाको मर्यादा कायम राख्न सबैसँग आग्रह गरे । “मेराबारेका निन्दा घरसम्म लैजान्न । निन्दा हाम्रो संस्कार होइन,” उनले भने, “भिन्न मत राख्नेहरूबीच पनि मर्यादित संवाद हुनुपर्छ ।”
थापाले पार्टी सभापति शेरबहादुर देउवालाई बिदा गर्न पटक–पटक प्रयास गरे पनि सफल हुन नसकेको स्वीकार गरे । “२०६८ सालदेखि नेताहरूले विश्राम लिनुपर्छ भन्दै आएको हुँ, तर २०७८ सम्म आइपुग्दा पनि त्यो सम्भव भएन,” उनले भने, “शेरबहादुर देउवालाई बिदा गर्न खोजियो, सकिएन । त्यो मेरो कमजोरी हो ।”
उनले चुनावअघि माओवादीसँग गठबन्धन गर्न नहुने सुझाव दिए पनि त्यो रोक्न नसकेको बताए । “निर्वाचनअघि हुने गठबन्धनले पार्टीलाई कमजोर बनाउँछ भनेको थिएँ,” थापाले भने, “तर पार्टीले निर्णय गर्यो, मैले मानें । त्यो पनि गल्ती नै भयो ।”
एमालेसँग गठबन्धन गर्दा पदाधिकारीलाई जानकारी नदिइएको आरोप लगाउँदै उनले सभापति देउवालाई “कांग्रेस तपाईंको प्राइभेट कम्पनी हो?” भनेर सोधेको बताएका छन् । “पितातूल्य नेताले ‘भयो भाइ’ भन्नुभयो, मानेँ,” उनले भने, “तर कुनै हालतमा मान्नु हुँदैनथ्यो । त्यो पनि मेरो गल्ती हो ।”
थापाले आफूले गरेका निर्णय र सीमितताका कारण पार्टीले चुकाउनुपरेको मूल्यबारे आत्मालोचना गर्दै आगामी दिनमा स्पष्ट अडान लिनुपर्ने निष्कर्ष निकालेका छन् ।










प्रतिक्रिया