Logo

समाचार

सुदन गुरुङद्वारा गृहमन्त्रीको कार्यसम्पादनमाथि प्रश्न, ‘ड्यासिङ गृहमन्त्री खोज्नुपर्छ’


२७ कार्तिक २०८२, बिहिबार  

23
Shares

काठमाडौं । हामी नेपालीका संयोजक सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यसम्पादनमाथि प्रश्न उठाउँदै उनलाई “कमजोर” अभिव्यक्ति दिएका छन्।

आज बिहान काठमाडौंको लैनचौरस्थित नेपाल स्काउटको परिसरमा बनेका अस्थायी संरचना काठमाडौं महानगरपालिकाले भत्काउने क्रममा उपस्थित गुरुङले पत्रकारहरूसँग कुरा गर्दै गृहमन्त्री अर्यालले जिम्मेवारी पुरा गर्न नसकेको टिप्पणी गरेका हुन्। उनले भने, “गृहमन्त्री कमजोर देखिनुभयो, नसक्ने हो भने उहाँलाई कानून मन्त्रालयमा पठाउन सकिन्छ।”

गुरुङले जाँचबुझ आयोगले रास्वपाका सभापति रवि लामिछानेलाई आठ घण्टा बयान लिएको उदाहरण दिँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायतबाट थप १२ घण्टा बयान लिनुपर्ने सुझाव दिए।

उनका अनुसार वर्तमान सरकार जनताद्वारा बनेको सरकार हो र अधिकांश मन्त्रालयले राम्रो काम गरिरहेका छन्, तर गृह मन्त्रालय सुस्त देखिएको छ। उनले भने, “गृह मन्त्रालय आन्दोलनको मर्म बुझ्ने मन्त्रालय हो, तर काम स्लो भइरहेको छ। सक्षम व्यक्ति राखेर काम गर्नुपर्छ।”

गुरुङले यसअघि पनि गृहमन्त्रीको राजीनामा माग गरेको उल्लेख गर्दै भने, “यदि काम गर्नुभयो भने हामी फूलमाला र मिठाईसहित स्वागत गर्छौं। तर, गर्न नसक्ने हो भने ड्यासिङ गृहमन्त्री ल्याउनुपर्छ।”

उनले गृहमन्त्रीले न काम गर्ने न राजीनामा दिने अवस्था रह्यो भने विकल्प खोज्नुपर्ने चेतावनी समेत दिए।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहिबार  २ : ११ बजे