काठमाडौं । धितोपत्र बजारमा नेप्से परिसूचक बुधबार २०.५६ अंकले घट्दै २,५४४.५९ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिनको तुलनामा ०.८० प्रतिशतले कम हो ।
यस दिन कारोबार रकम भने वृद्धि भएको छ । कुल ३ अर्ब ८४ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ, जुन मंगलबारको ३ अर्ब ६२ करोड ६१ लाख रुपैयाँभन्दा बढी हो ।
बजारमा आज ४९ कम्पनीको सेयरमूल्य बढ्दा १९८ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ ।
भूगोल इनर्जी र सागर डिस्टिलरीका सेयरमूल्य १० प्रतिशतले बढेका छन् । भूगोल इनर्जीको सेयरमूल्य प्रतिकित्ता ५२२ रुपैयाँ १० पैसा र सागर डिस्टिलरीको ५१६ रुपैयाँ २० पैसा पुगेको छ । त्यस्तै, बन्दीपुर केबलकार एन्ड टुरिजम र बुंगल हाइड्रोपावरका सेयरमूल्य ९.९८ प्रतिशतले बढेका छन् ।
हिजो ९ प्रतिशतभन्दा बढीले बढेको दरमखोला हाइड्रो इन्जिनियरिङको सेयरमूल्य आज ८.७२ प्रतिशतले घटेको छ ।
आज सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयरमा भएको छ । कम्पनीको ४० करोड ३४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । कम्पनीले ४२ प्रतिशत लाभांश र १०० प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेपछि लगानीकर्ताको चाप बढेको बताइएको छ ।
बजारका १३ मध्ये उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहका परिसूचक घटेका छन् । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ०.२३ प्रतिशतले वृद्धि भएको छ ।










प्रतिक्रिया