काठमाडौं । नेपाल बार एशोसिएशनका पूर्वअध्यक्ष गोपाल कृष्ण घिमिरेले अहिलेकै अवस्थामा फागुन २१ गतेको चुनावमा जाने हो भने टिकट लिने मान्छे पनि नपाउने अवस्था रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित नेपाली कांग्रेस विशेष महाधिवेशनको सन्दर्भमा आयोजित कानुनी विमर्शमा उनले काङ्ग्रेस चुनावमा जाने हो भने पूर्ववत अवस्थामै रहेर काम गर्न नसक्ने बताए । उनले यस्तो कुरा नेताहरुको सामु नडराई भन्न सक्नुपर्ने बताए ।
उनले भने, ‘विशेष महाधिवेशन गर्न सकिन्छ कि सकिदैँन् भन्ने कुरामा सुरुवात नै नगरेपछि सक्दै सकिदैन । सुरुवात त हुनुपर्यो नि । सुरुवात गरेपछि सक्ने नसक्ने थाहा हुन्छ । तर अहिलेकै अवस्थामा फागुन २१ गतेको चुनावमा जाने हो भने उम्मेदवार नपाउने संभावना छ । टिकट लिन कोही चाहदैनन् । यस्तो अवस्थामा चुनाव लड्दिन भनेपछि टिकट कसलाई दिने । कांग्रेस पूर्ववत अवस्थामा चल्न सक्ने अवस्थामा नै छैन् ।’
यस्तै, उनले प्रधानमन्त्री, सांसद कतिपटक बन्न पाउने वा नपाउने भन्ने कुरा व्यवस्था पनि विस्तारै गर्दै जानुपर्ने बताए ।
उनले भने, ‘धेरै त्याग गरेको नेताहरु छन्, त्यसमा शेरबहादुर दाई पनि पर्छन् । उहाँको अवस्था हामीले केही दिन अगाडि देख्यौं । यो दुखलाग्दो कुरा हो । एक अवधी पुगेपछि बस्न नपाउने भन्ने कुरा काङ्ग्रेसमा लागू हुँदैन । कानून क्षेत्रतिर त्यो लागू हुन्छ तर प्रधानमन्त्री कतिपटक बन्न पाउने वा नपाउने भन्ने विषय हामीले लेखेनौं । सांसदको कुरा लेखेनौ । यस्ता कुरा विस्तारै व्यवस्था गर्नुपर्छ कि भन्ने देखिएको छ ।’
कांग्रेस रहेन भने देश नै रहदैन् भन्ने कुरामा आफू विश्वस्त रहेको पनि उनको भनाई छ ।
सोही क्रममा अधिवक्ता सीताराम केसीले फागुनमा हुन लागेको निर्वाचनमा नयाँ एजेण्डा, नयाँ नेतृत्व र नयाँ उर्जाका साथ नगए सम्भावना नै नरहेको बताए ।
साथै, अबको महाधिवेशनले स्पष्टसँग पार्टीमा आर्थिक नीतिसँगै राजनीति नीति पनि आवश्यक भएको कुरा उठाउनु पर्ने पनि उनको भनाई छ ।
यस्तै, उनले यो विशेष महाधिवेशन कुन तरिकाले जान्छ भन्ने कुरातिर प्रवेश गर्न जरुरी नभएको भन्दै विशेष महाधिवेशन केन्द्रमा मात्रै हुने तर्क गरे ।










प्रतिक्रिया