काठमाडौं । धितोपत्र बजारमा सोमबार (कात्तिक २४) नेप्से परिसूचक ५.८० अंकले घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) अनुसार परिसूचक ०.२२ प्रतिशतले घट्दै २,५६०.२९ विन्दुमा पुगेको हो ।
यस दिन कारोबार रकम पनि घटेको छ । सोमबार ४ अर्ब ५१ करोड ४४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएकोमा आइतबार (कात्तिक २३) ४ अर्ब ९० करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।
आज ९१ कम्पनीको सेयरमूल्य बढेको, १५१ कम्पनीको घटेको र ११ कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ ।
वृद्धि हुने कम्पनीहरूमा दरमखोला हाइड्रो इनर्जी, सागर डिस्टिलरी र बुङ्गल हाइड्रोपावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ भने माबिलुङ इनर्जीको सेयरमूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । सोही समयमा उन्नत्ति सहकार्य लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले घट्दै प्रतिकित्ता १,९५३ रुपैयाँ ८० पैसामा झरेको छ ।
यसदिन सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको सेयरमा भएको हो । यस कम्पनीको ४८ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
कारोबारमा आएका १३ समूहमध्ये चार समूहको परिसूचक बढेको छ भने बाँकी समूह घटेका छन् । घट्ने समूहमा होटेल तथा पर्यटन समूह १.६४ प्रतिशत, हाइड्रोपावर समूह ०.३१ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.१० प्रतिशत र व्यापार समूह ०.५५ प्रतिशतले घटेका छन् ।










प्रतिक्रिया