Logo

समाचार

नेपाल–भारत सीमा क्षेत्र सुनसान, आवागमनका लागि परिचयपत्र अनिवार्य


२३ कार्तिक २०८२, आइतबार  

23
Shares

रौतहट । भारतको बिहार राज्यमा हुने दोस्रो चरणको विधानसभा निर्वाचनका लागि रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा आवागमन बन्द गरिएको छ ।

भारतको बिहार राज्य सितामढी तथा पुर्वी चम्पारणका जिल्लामा कात्तिक २५ गते (नोभेम्बर ११ तारेख) का दिन दोस्रो चरणको विधानसभा निर्वाचन हुन लागेकाले शान्ति सुरक्षा व्यवस्थापनका लागी सीमा नाका बन्द गरिएको  रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले बताए । उनका अनुसार कात्तिक २५ गते ६ः०० बजे सम्म नेपाल–भारत सीमा नाका बन्द हुने छ ।

नेपाल–भारत सीमा नाकामा आकस्मिक सेवा बाहेक आवागमन पुर्णः रुपमा बन्द भएको उनले बताए । तर अहिले एकबाट अर्को देशका नागरिकहरु परिचय खुल्ने आधार देखाएपछि पैदल नै आवागमन गराइएको पाइएको गौरका स्थानीय अमित केशरीले बताए ।

गौरको सीमा क्षेत्र भएर भारतीय नागरिक आफ्नो मताधिकारको प्रयोग गर्नका लागि आधार कार्ड देखाएपछि मात्र भारततर्फ जान दिइएको छ । त्यसैगरी नेपालीहरु भारतबाट स्वदेश फर्किन नागरिकता देखाएपछि सीमा क्षेत्रमा खटिएका एसएसबीले सहज रुपमा आउन दिएको उनले बताए ।

सीमा क्षेत्रमा सुरक्षामा कडाइ गर्दै निर्वाचन अवधिभर सम्भावित अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले दुवै देशका सुरक्षाकर्मीहरू सीमाक्षेत्रमा तैनाथी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ७ : १५ बजे