Logo

राजनीति

‘अन्तरिम सरकारमा रहेका प्रधानमन्त्री तथा मन्त्रीहरु छानविनको दायरमा आउनुपर्छ’


२३ कार्तिक २०८२, आइतबार  

23
Shares

काठमाडौं । नेकपा (एमाले)का नेता महेश बस्नेतले आफू र आफ्नो पार्टी छानविनको दायरामा आउन तयार रहेको बताएका छन् ।

आइतबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटीको बैठकमा बोल्दै उनले अन्तरिम सरकारका प्रधानमन्त्री तथा मन्त्रीहरु पनि छानविनको दायरामा आउनु पर्ने बताएका हुन् ।

उनले भने, ‘राज्यको स्रोत, साधन र शक्तिको दुरुपयोग नेताले मात्र गर्छ भन्ने जुन भाष्य उनीहरुले बनाउन खोजे त्यो वेठिक हो । म १३ महिना मन्त्री हँुदा राज्यको स्रोत साधनको के दुरुपयोग गरे ? छानविनको दायरामा आउन तयार छु भनेर ओपन च्यालेन गरेको छु । एमाले पार्टीले गरेको छ । एमालेका सबै पङतिले गरेको छ ।’

उनले थप भने, ‘सुशीला कार्की प्रधानन्यायाधीश हुँदा छानविनको दायरामा आउन तयार हो त ? प्रधानन्यायाधीश हुँदा स्रोत साधनको दुरुपयोग हुने राम्रै ठाउँ होला नि । रामेश्वर खनाल अर्थसचिव हुँदा विशेष छानविनमा आउन तयार हो त ? बजेट निर्माण गर्दा ठूला ठूला व्यवसायीहरुमा करका दररेट मिलाएका सेटिङ मिलाएका कुरा के के हो ? आरोप लगाउदिन मन छैन् । तर छानविनमा आउन तयार हो त ?’

उनले उर्जामन्त्री रहेको कुलमान घिसिङ विद्युत प्राधिकरणको प्रमुख रहँदा अन्तरदेशीय ट्रान्समिसन लाइन विस्तार गर्नेक्रममा भएको सम्झौताले ४५ करोड घाटा भएको पनि बताए ।

‘कुलमान विद्युत प्राधिकरणको एमडी हुँदा छानविन गर्न तयार हो त ? मलाई लाग्दैन उहाँहरु तयार हुनुहुन्छ भनेर । कुलमानजीको अहिलेको भारतको भ्रमणमा अन्तरदेशीय ट्रान्समिसन लाइन विस्तार गर्नेक्रममा जुन सम्झौता उहाँले गर्नुभयो त्यसमा नेपाल विद्युत प्राधिकरणलाई एकोहोरो भाडा दिनेगरी र थप ४५ करोड घाटा हुने खालको सम्झौता गरेर आउनुभयो । कारबाही त यहीबाट सुरु गरे भयो त,’ उनले भने ।

उनले दुई महिनासम्म पनि मन्त्रिपरिषद्ले पूर्णता नपाएको भन्दै मन्त्रीहरुले सम्पत्ति छानविन विवरण सार्वजनिक गर्न नसकेको बताए । 

‘दुई महिना भयो मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । दुई महिना भयो मन्त्री ज्युहरुले सम्पति छानविन विवरण सार्वजनिक गर्नुभएको छैन । यति रमाइलो स्टनबाजी छ । सञ्चारमन्त्रीज्यूले गरेको महत्वपूर्ण काम के रे भन्दा आर्यघाटमा वाईफाई फ्रि रे । किनभने आर्यघाटमा मृतकहरुले परिवारले विदेशमा लाइभ गर्ने रे । सबैभन्दा महत्वपूर्ण उपलव्धि जगदीश खरेलजीको त्यही रहेछ,’ उनले भने ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ३ : ३४ बजे