काठमाडौं। चन्द्रागिरि–४ थानकोटमा करिब एक अर्ब रुपैयाँ बराबरको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल निर्माणका लागि ‘ग्लोबल टेण्डर’ प्रक्रिया सुरु भएको छ।
शुक्रबार चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन राजदूत उडो युगेन भोल्जबीच भएको भेटवार्तामा अस्पताल निर्माणका सम्बन्धमा छलफल भएको छ। जर्मन विकास बैंक (केएफडब्लू)ले आर्थिक तथा प्राविधिक सहयोगका लागि करिब एक अर्ब रुपैयाँ बराबरको प्रतिबद्धता जनाएको छ।
नगरप्रमुख गिरीले अस्पताल भवन निर्माणका लागि निरन्तर पहल, सहजीकरण र समन्वय गर्दै आएको जानकारी दिए। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीको ‘स्याटेलाइट’ अस्पतालका रुपमा थानकोटमा २५ शय्याको अस्पताल बन्नेछ।
अस्पताल निर्माणका लागि मन्त्रिपरिषद्ले २३ रोपनी जग्गा नगरपालिकालाई स्वीकृत गरिसकेको छ। विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र केएफडब्लूको सहकार्यमा तयार गरिएको हो।
गत जेठ महिनाको पहिलो साता अस्पतालको विस्तृत खाका र ‘ग्लोबल टेण्डर’ प्रक्रिया अघि बढाउन आवश्यक प्रतिवेदन तयार गर्न केएफडब्लूको उच्चस्तरीय टोली नेपाल आएका थिए।










प्रतिक्रिया