काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनमा ‘गलत घुसपैठ’का कारण तोडफोड, आगजनी र लुटपाटका घटना भएको बताएका छन् ।
नागरिक पहलद्वारा आयोजित ‘राष्ट्रहित सर्वोपरि कन्क्लेभ’ अन्तर्गत ‘विध्वंश पछिको अर्थतन्त्र ः कारण र चुनौती’ विषयक चौथो प्यानल छलफलमा बोल्दै अध्यक्ष ढकालले आन्दोलनको वास्तविक उद्देश्य र जनचाहनाअनुसार परिणाम नआएको टिप्पणी गरे ।
उनले जेनजीको आन्दोलन प्रारम्भिक उद्देश्य र चाहनाअनुसार अघि बढे पनि पछि गलत तत्वको प्रवेशले त्यसलाई असामाजिक गतिविधितर्फ मोडिएको बताए ।
उनले भने, ‘वास्तवमा जेनजीको आन्दोलन जुन उद्देश्य र स्पिडमा भएको थियो, त्यो अनुसारको परिणाम आएन । तोडफोड, आगजनी, लुटपाट भयो । मलाई लाग्छ त्यो रियल जेनजीको उद्देश्य अनुसार भएको थिएन, यो गलत घुसपैठका कारण भएको हो ।’
ढकालले तोडफोड र आगजनीका कारण उद्योग प्रतिष्ठान र नागरिकको घरसमेत असुरक्षित बनेको उल्लेख गरे ।
उनले भने, ‘सुरक्षित ठाउँ त घर हो, त्यो घर नै असुरक्षित भयो भने त्यो व्यक्तिको, समाजको, राज्यको र प्रणालीको के अवस्था हुन्छ ? ’
उनले सुशासन र पारदर्शिताको सवाल केवल जेनजीको मात्रै नभई सबैको साझा विषय भएको पनि बताए । ढकालले निजी क्षेत्रले पनि लामो समयदेखि सुशासन र पारदर्शिताको माग उठाउँदै आएको समेत बताए ।
उनले भने, ‘वास्तवमा जेनजीको आन्दोलन जुन उदेश्य, जुन चाहना अनुसार अथवा जुन स्पिडमा भएको चाँही थियो त्यो आन्दोलनको उदेश्य र रियलमा जेनजीले चाहेको जस्तो रिजल्ट आएन । सुशासन र पारदर्शिताको कुराहरु जेनजीको मात्र होइन हामी सबैको हो । तर जेनजीको आन्दोलनको जुन स्पिड थियो त्यो गलत घुसपैठका कारणबाट त्यसलाई गलत मोडतिर लगेको कुरा मैले फिल गरेको छु ।’










प्रतिक्रिया