काठमाडौं । लोकरक ब्यान्ड नेपथ्यले खेलकुद प्रवर्द्धनका उद्देश्यले आगामी कात्तिक २१ गते शुक्रबार पोखरा रंगशालामा कन्सर्ट गर्ने भएको छ । तीन वर्षपछि गृहप्रदेशमा प्रस्तुति दिन लागेको ब्यान्डले यसपटक क्रिकेट प्रवर्द्धन अभियानलाई साथ दिने जनाएको छ ।
‘नेपथ्य फर स्पोर्ट्स’ नारासहित हुने यस कन्सर्टले नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको पोखरा एभेन्जर्स टिमको जर्सी सार्वजनिक कार्यक्रमलाई सहयोग गर्नेछ । आयोजक नेपालयका अनुसार पोखरा एभेन्जर्सको जर्सी खरिद गर्ने दर्शकले कन्सर्टमा निःशुल्क प्रवेश पाउने व्यवस्था गरिएको छ ।
बिहीबार बेलुकी सार्वजनिक गरिएका एक हजार अर्ली बर्ड जर्सी १३ घण्टामै बिक्री सकिएका छन् । अब शुक्रबार बिहान ११ बजेदेखि रंगशाला गेटमार्फत दुई हजार जर्सी वितरण गरिनेछ । जर्सी बिक्रीबाट उठेको रकमले गण्डकी प्रदेशका सामुदायिक विद्यालयहरूमा क्रिकेट किट वितरण गरिने आयोजकले जनाएको छ ।
ब्यान्डका मुख्य गायक अमृत गुरुङले खेलकुद र संगीतको सहकार्यबाट समाजमा सकारात्मक सन्देश फैलाउने लक्ष्य रहेको बताए । “देशमा चुनौतीपूर्ण वातावरणका बीच खेलकर्मी र कलाकर्मीले सँगै सकारात्मकता फैलाउन पाउनु ठूलो उपलब्धि हो,” उनले भने ।
नेपथ्यले अघिल्ला वर्षहरूमा ‘सुन्दर शान्त नेपाल’, ‘शान्तिका लागि शिक्षा’, ‘नेपथ्य फर डिजेबल्ड’ र ‘नेपथ्य फर अल’ जस्ता सामाजिक अभियान सञ्चालन गरेको थियो । ब्यान्डले झन्डै साढे तीन दशकदेखि संगीतमार्फत मनोरञ्जनसँगै सामाजिक जिम्मेवारी निर्वाह गर्दै आएको छ ।










प्रतिक्रिया