Logo

मुख्य समाचार

यो वर्षा कहिले रोकिने ? मौसमविद् भन्छन् – भोलिदेखि सुधारको संकेत


१५ कार्तिक २०८२, शनिबार  

69
Shares

काठमाडौं – देशभर भइरहेका निरन्तर वर्षाको प्रभाव अझै केही समय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

मौसमविद् गोविन्द झाका अनुसार अरब सागरमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण अहिले देशभर वर्षा भइरहेको हो।

उनका अनुसार आज कोसी प्रदेशमा सबैभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ भने वाग्मती, मधेस र गण्डकी प्रदेशमा मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा, साथै वाग्मती र गण्डकीका केही उच्च पहाडी भूभागमा हल्का हिमपात पनि हुन सक्ने उनले जानकारी दिए।

“मोन्था र न्यूनचापीय प्रणालीको प्रभाव क्रमशः घट्दै जाने भएकाले मौसम पनि बिस्तारै सुधार हुँदै जानेछ,” झाले भने। उनका अनुसार आज साँझदेखि वा भोलिबाट देशका अधिकांश भागमा मौसममा सुधारको संकेत देखिएको छ।

काठमाडौंमा आज पनि वर्षा हुने भए पनि अपराह्नपछि तीव्रता घट्ने झाको अनुमान छ। “हिजोको तुलनामा आज काठमाडौंमा कम वर्षा हुनेछ। केहीबेर पानी पर्न, रोकिने र फेरि पर्नेजस्तो अवस्था रहन्छ,” उनले बताए।

भोलिबाट काठमाडौंमा वर्षाको सम्भावना नदेखिएको मौसमविद् झाको भनाइ छ। तर, उनले मौसमको अनिश्चितताका कारण ठ्याक्कै पूर्वानुमान गर्न कठिन हुने उल्लेख गरे।

बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभावका कारण बिहीबारदेखि देशका धेरै स्थानमा लगातार वर्षा भइरहेको छ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ८ : १५ बजे