Logo

खेलकुद

नेपालले भारतलाई पेनाल्टी सुटआउटमा पराजित


१२ कार्तिक २०८२, बुधबार  

138
Shares

काठमाडौं । नेपालले भारतलाई मैत्रीपूर्ण महिला फुटबल खेलमा पेनाल्टी सुटआउटमा ३–० ले पराजित गरेको छ। बुधबार सिक्किमको पाल्जोर रंगशालामा सम्पन्न खेल निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछि नतिजा पेनाल्टीबाट तय भएको हो।

नेपालकी गोलकिपर अञ्जनाले भारतका प्रिया दार्शीनी र अस्टम ओरामको पेनाल्टी प्रहार बचाउँदै टोलीको जितमा महत्वपूर्ण योगदान दिइन्। भारतकी सन्तोषको प्रहार भने पोस्ट बाहिर गएको थियो। नेपालबाट निशा ठोक्कर, सविताराना मगर र रश्मिकुमारी घिसिङले पेनाल्टी गोल गरे। कप्तान अनिता बस्नेतको प्रहार भारतकी गोलकिपर साउमिया नारायासमीले रोकिन्।

खेलको ३०औँ मिनेटमा सौम्या गुगूल्टोहले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्। पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले नेपालका लागि बराबरी गोल गरेकी थिइन्।

यो नेपाल र भारतबीचको अनौपचारिक (अनअफिसियल) मैत्रीपूर्ण फुटबल खेल हो। यसअघि नेपालले इरानसहितको त्रिदेशीय मैत्रीपूर्ण प्रतियोगितामा भारतलाई २–१ ले पराजित गरेको थियो।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ८ : १६ बजे