Logo

मुख्य समाचार

विराटनगरमा एमालेको संविधान रक्षा र संसद् पुनःस्थापना अभियान सुरु


१२ कार्तिक २०८२, बुधबार  

46
Shares

विराटनगर । नेकपा (एमाले) कोसी प्रदेशले संविधानको रक्षा र संसद् पुनःस्थापना मागसहित प्रदेशस्तरीय संघर्ष सुरु गरेको छ। बुधबार विराटनगरमा आयोजित कार्यक्रमबाट औपचारिक रूपमा आन्दोलनको घोषणा गरिएको हो।

कार्यक्रममा एमाले कोसी प्रदेश इन्चार्ज शेरधन राईले पहिलो चरणमा सबै जिल्लामा छलफल सञ्चालन गरी सवा लाख कार्यकर्ता परिचालन गर्ने तयारी गरिएको जानकारी दिए। उनले भने, “पहिलो चरणमा जिल्लास्तरमा छलफल र तयारी हुन्छ, त्यसपछि आन्दोलनको आँधीबेहरी ल्याइनेछ।”

राईका अनुसार २५ गते भेला सम्पन्न भएपछि जिल्ला सदरमुकाम र प्रदेश राजधानीमा प्रदर्शन गरिनेछ। उनले आन्दोलनका क्रममा भएको आगजनी र तोडफोड घटनामा संलग्न व्यक्तिहरूमाथि छानबिन र कारबाही गर्न सर्वस्वीकार्य आयोग गठन गर्न माग गरे।

उनले पार्टी केन्द्रीय कमिटीको निर्णयअनुसार आन्दोलनका कार्यक्रम प्रदेश र जिल्लास्तरमा सञ्चालन हुने बताए। साथै, २०४६ सालयता नेताहरूको सम्पत्तिको उच्चस्तरीय छानबिन हुनुपर्नेमा एमाले तयार रहेको र आवश्यक परे आफूबाटै छानबिन सुरु गर्न तयार रहेको बताए।

राईले नेतृत्व परिवर्तन सडक आन्दोलनबाट नभई पार्टीको विधि–प्रक्रिया अनुसार महाधिवेशनबाट हुने स्पष्ट पारे। उनले वर्तमान “असंवैधानिक सरकारले” निर्वाचन गराउन नसक्ने दाबी गर्दै संसद् पुनःस्थापना गरी नयाँ सरकार गठन गर्नुपर्ने माग दोहोर्‍याए।

उनका अनुसार मोरङ बृहत् भेला सम्पन्न भएपछि तेह्रथुम, सुनसरी, ओखलढुंगा लगायत जिल्लामा क्रमशः भेला सञ्चालन गरिनेछ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  १२ : ४७ बजे