काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले ‘नेपाल कम्युनिस्ट पार्टी’ घोषणा गरेको ११ वर्षपछि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको छ। मंगलबार पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा गएको टोलीले काठमाडौंको कान्तिपथस्थित आयोग कार्यालयमा निवेदन दर्ता गरेको हो।
पार्टीको नाम ‘कम्युनिस्ट पार्टी, नेपाल’ प्रस्ताव गरिएको र चुनाव चिह्नबारे छलफल जारी रहेको प्रवक्ता प्रकाण्डले जानकारी दिएका छन्।
विप्लवले २०७१ सालमा मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट अलग हुँदै आफ्नै नेतृत्वमा नेकपा गठन गरेका थिए। २०७४ सालको निर्वाचन उनले बहिष्कार गरेका थिए भने २०७५ फागुन २८ गते तत्कालीन नेकपाकै सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो। उक्त प्रतिबन्ध २०७७ फागुन २० गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले तीन बुँदे सहमति गर्दै फुकुवा गरेको थियो।
शान्तिपूर्ण राजनीतिमा सहभागी हुने प्रतिबद्धता जनाएको विप्लव समूह २०७९ असारमा गठित समाजवादी मोर्चामा समावेश भएको थियो। उक्त मोर्चामा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिस्ट पार्टी (विप्लव) र नेपाल समाजवादी पार्टी (महेन्द्रराय यादव समूह) समावेश छन्।
०८१ पुसमा बसेको केन्द्रीय कमिटी बैठकले २०८४ सालको निर्वाचनमा भाग लिने निर्णय गरेपछि विप्लव समूहले दल दर्ताको प्रक्रिया अघि बढाएको हो। हाल आयोगले नयाँ दल दर्ताका लागि कात्तिक मसान्तसम्म समय तोकेको छ। आयोगमा दर्ता भएका दलले मात्रै आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन पाउने व्यवस्था छ।










प्रतिक्रिया