काठमाडौं । अरब सागर र बंगालको खाडीमा विकसित मौसम प्रणालीका कारण देशका विभिन्न भागमा यो साता मध्यमदेखि भारी वर्षा र हिमपात हुने सम्भावना रहेको छ।
अरब सागरको महाराष्ट्र तटीय क्षेत्रमा उत्पन्न न्यून चापीय प्रणालीको प्रभावले आज (कात्तिक १०) नेपालभरि आंशिकदेखि पूर्ण बदली रही सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भएको छ। उच्च हिमाली क्षेत्रमा हिमपात र लुम्बिनी तथा गण्डकी प्रदेशमा भोलि र पर्सि हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ।
यससँगै बंगालको खाडीमा उत्पन्न ‘मोन्था’ नामक समुद्री आँधी भोलि (कात्तिक ११)देखि तीव्र हुने भारतीय मौसम विभागले जनाएको छ। उक्त आँधीको गति प्रतिघन्टा ९० देखि १०० किलोमिटरसम्म पुग्ने बताइएको छ।
जलवायुविज्ञ डा. धर्मराज उप्रेतीका अनुसार, मोन्था आँधीको प्रभाव बुधबार (कात्तिक १३)देखि नेपालमा विशेषगरी पूर्वी भूभागमा देखिने सम्भावना छ। “मोन्था समुद्री आँधीको प्रभाव पूर्वी नेपालमा बुधबारदेखि नै देखिनेछ भने बढी प्रभाव कात्तिक १३ देखि १६ सम्म वाग्मती, मधेस र कोसी प्रदेशमा पर्नेछ,” उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
उनका अनुसार केही स्थानमा मध्यमदेखि भारी वर्षा हुन सक्ने र मनसुनको जस्तो वातावरणीय प्रभाव देखिनेछ। यद्यपि, अरब सागरको प्रणालीको प्रभावले आज र भोलि उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको उनले बताएका छन्।
‘मोन्था’ शब्द थाई भाषाबाट लिइएको हो, जसको अर्थ ‘वासनादार फूल’ भन्ने हुन्छ। समुद्री आँधीहरूको नामकरण समुद्रसँग जोडिएका विभिन्न देशहरूको भाषाबाट गर्ने प्रचलन छ।










प्रतिक्रिया