हेटौँडा । सूर्य देवतालाई पहिलो अघ्र्य अर्पणसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा छठ पूजा औपचारिक रूपमा सुरु भएको छ। राप्ती खोलाको तट, हेटौँडा–१, २ र आसपासका क्षेत्रहरूमा हजारौँ भक्तजनले व्रत र पूजा आरम्भ गरेसँगै शहरभर भीड बढेपछि सडकमा अव्यवस्था देखिएको छ ।
साँझको समयमा नदी किनार र मुख्य सहरका सडकहरूमा तीर्थयात्रीहरूको भीड बढेपछि ट्राफिक अवरुद्धजस्तो अवस्था देखिएको छ । विशेष गरी राप्ती पुलदेखि बसपार्क, त्रिभुवन राजपथ र हुप्राचौर क्षेत्रमा सवारी सञ्चालनमा कठिनाइ परेको स्थानीयहरूले बताएका छन् ।
भीड नियन्त्रण र ट्राफिक सहज बनाउन जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रहरी बल परिचालन गरे पनि जनसमुदायको चाप अत्यधिक भएपछि व्यवस्थापनमा हम्मे परेको छ। प्रहरीका अनुसार अतिरिक्त ट्राफिक जवानहरू खटाइएका छन्, तर भक्तजनको भीड र सवारी चापले सडक सुचारु गर्न कठिन भइरहेको छ ।
छठ पूजाको अवसरमा हेटौँडाका विभिन्न पोखरी, नदी तट र अस्थायी घाटहरूमा धार्मिक गीत, भजन र दीप प्रज्वलनले वातावरण आस्थामय बनेको छ। भोलि बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिइएपछि चारदिने यो पर्व सम्पन्न हुनेछ ।










प्रतिक्रिया