काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले समाजसेवी अञ्जली मास्केलाई सम्मान गरेकी छन्। प्रधानमन्त्री कार्कीले सोमबार बालुवाटारस्थित आफ्नै निवासमा मास्केलाई आमन्त्रण गरी पछ्यौरा लगाइदिई सम्मान गरेकी हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा उनीहरूबीच केहीबेर समसामयिक विषयमा छलफल भएको थियो। प्रधानमन्त्री कार्कीले लामो समयदेखि मास्केले समाजसेवामा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै भनिन्, “तपाईंले नि:स्वार्थ रूपमा सामाजिक काम गर्दै आउनुभएको थाहा थियो। भेट्ने इच्छा पूरा भएको छ। सरकारका तर्फबाट धेरै गर्न नसके पनि भेटेर सम्मान प्रकट गरेका हौं।”
काठमाडौंको ताहाचल निवासी ८२ वर्षीया मास्के विगत २७ वर्षदेखि भाइटीकामा दिदीबहिनी नभएका दाजुभाइहरूलाई टीका लगाइदिई आउने गरेकी छन्। साथै, उनले वीर अस्पतालमा बेवारिसे र विपन्न बिरामीका लागि नि:शुल्क खानपानको व्यवस्था र काष्ठमण्डपमा सामूहिक व्रतबन्ध कार्यक्रम पनि आफ्नै खर्चमा सञ्चालन गर्दै आएकी छन्।
भेटका क्रममा मास्केले आफ्ना सबै सामाजिक कार्यहरू व्यक्तिगत रूपमा र बिना कुनै अपेक्षामा गर्दै आएको जानकारी दिइन्। उनले भनिन्, “मलाई सरकारबाट केही चाहिएको छैन। हामीले आ–आफ्नो ठाउँबाट सकारात्मक काम गर्दै जानुपर्छ र एकले अर्कालाई सघाउनुपर्छ।”
प्रधानमन्त्री कार्की देशकी पहिलो महिला प्रधानमन्त्री बनेको खबर सुनेदेखि नै आफूमा उत्साह र भरोसा जागेको मास्केले बताइन्। उनले प्रधानमन्त्रीलाई उद्देश्यप्रति अडिग रहन आग्रह गर्दै भनिन्, “पहिलाजस्तै नडराइकन काम गर्नुहोला।”










प्रतिक्रिया