काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा उत्पन्न वर्तमान राजनीतिक परिस्थितिको समाधान शान्तिपूर्ण निर्वाचनबाट मात्र सम्भव हुने बताएका छन्।
सोमबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले निर्वाचन नै देशलाई समृद्धिको दिशामा लैजाने एकमात्र विकल्प भएको बताए। “चुनाव हुन्छ वा हुँदैन भन्ने होइन, यसको विकल्प छैन,” उनले भने, “पार्टी निर्वाचनको तयारीमा लागिसकेको छ।”
दाहालले पार्टीका सबै तहका नेता–कार्यकर्तालाई निर्वाचन तयारीमा जुट्न निर्देशन दिएको जानकारी दिए। उनले नेपाली कांग्रेसलगायत अन्य दलका नेताहरूसँग पनि आगामी निर्वाचनबारे निरन्तर संवाद भइरहेको बताए।
उनका अनुसार सरकारले पनि चुनावको वातावरण बनाउन थालिसकेको छ। “सरकारले निर्वाचनको वातावरण बनाउन खोजिरहेको महसुस गरेको छु,” दाहालले भने।
त्यसैगरी, उनले समाजवादी मोर्चाभित्र रहेका दलबीच एकता प्रक्रियाबारे छलफल सकारात्मक दिशामा रहेको बताए। “यही हप्ताभित्र एकता हुने वा नहुने टुंगो लाग्नेछ,” दाहालले स्पष्ट पारे।
उनका अनुसार मधेशवादी दलहरूसँग पनि माओवादी केन्द्रको सहकार्य गरी संयुक्त रूपमा निर्वाचनमा जाने सम्भावना रहेको छ।
“निर्वाचन सफल पार्नु अहिले हाम्रो पहिलो कार्यभार हो,” दाहालले भने, “सबैले यही उद्देश्यमा केन्द्रित हुनुपर्छ।”










प्रतिक्रिया