“रगतको अभावले कसैको उपचार नरोकियोस् भन्ने उद्देश्यले हामी सधैं सक्रिय छौं,” — अध्यक्ष अर्जुन अधिकारी
चितवन । स्वयंसेवी रक्तदाताहरूको पहलमा स्थापना भएको ब्लड डोनर्स सोसाइटी नेपालले देशभर बिरामी र रक्तदाताबीच सहजीकरण गर्दै रक्त अभाव न्यूनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।
सोसाइटीका अध्यक्ष अर्जुन अधिकारीका अनुसार संस्थाले काठमाडौं, चितवन र झापामा शाखा स्थापना गरेको छ भने कास्की, नवलपुर, मकवानपुर, पर्सा, बाँके र रुपन्देहीलगायत जिल्लामा प्रतिनिधिहरू सक्रिय छन्। उनका अनुसार सोसाइटीले १० हजारभन्दा बढी रक्तदातालाई आफ्नो नेटवर्कमा जोडेको छ।
सोसाइटीले युवा र नयाँ रक्तदातालाई उत्प्रेरित गर्दै नियमित रक्तदान अभियान सञ्चालन गर्दै आएको छ। सामाजिक सञ्जालमार्फत रक्तसमूह सार्वजनिक गरी आह्वान गर्दा स्वयंसेवी रक्तदाता स्वतःस्फूर्त रूपमा रक्तदानमा सहभागी हुने गरेको अधिकारीले बताए।
उनका अनुसार सोसाइटीले सञ्चालन गरेको एक अभियानमा एकै दिन १,७०० युनिट रगत सङ्कलन गरिएको थियो, जुन नेपालकै पहिलो रेकर्ड हो।
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले सोसाइटीले बिरामीका लागि रगत आपूर्तिमा सहजीकरण गर्दै महत्वपूर्ण योगदान दिएको बताए। “सोसाइटीका कारण पछिल्ला दिनमा बिरामीहरूलाई राहत मिलेको छ,” उनले भने।
त्यस्तै, चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले सोसाइटी स्थापना भएपछि रगत अभावका कारण उपचार रोक्नुपर्ने अवस्था नरहेको बताए। उनका अनुसार क्यान्सर उपचारमा ठूलो मात्रामा रगत आवश्यक हुने भएकाले चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजमा सोसाइटीको भूमिका विशेष रूपमा देखिएको छ।
चितवन जिल्लामा दैनिक करिब १५० युनिट रगत आवश्यक पर्ने जनाइएको छ। कोरोना महामारीका समयमा रगतको अभाव भएपछि जिल्लाका स्वयंसेवी रक्तदाताले केन्द्रीय समन्वय गर्दै यो संस्था स्थापना गरेका हुन्।
सामाजिक सञ्जालमार्फत रक्तदानमा युवालाई उत्प्रेरित गर्दै आएको सोसाइटीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानसमेत प्राप्त गरेको छ।










प्रतिक्रिया