Logo

समाचार

दार्चुलाका ३३ वडामा अनलाइनबाट नागरिकता सिफारिस सुरु


७ कार्तिक २०८२, शुक्रबार  

23
Shares

दार्चुला । दार्चुला जिल्लाका नौ स्थानीय तहअन्तर्गत ३३ वडाले अनलाइन प्रणालीमार्फत नागरिकता सिफारिस सेवा सुरु गरेका छन्। कुल ६१ वडामध्ये ३३ वडामा अनलाइन सिफारिस प्रणाली कार्यान्वयनमा आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अनिल पौडेलका अनुसार अनलाइन प्रणाली लागू भएपछि सेवाग्राहीले वडा कार्यालयबाट लिखित सिफारिस लिएर प्रशासन कार्यालय धाउनुपर्ने झन्झट हटेको छ। अब वडा कार्यालयले गृह मन्त्रालयले विकास गरेको सफ्टवेयरमा सेवाग्राहीको विवरण भरी कोड नम्बरका साथ प्रशासन कार्यालयमा पठाउने र प्रशासनले सो कोडका आधारमा विवरण रुजु गरी नागरिकता वितरण गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

उनका अनुसार अनलाइन सिफारिस प्रणालीले सेवा सहज, छिटोछरितो र पारदर्शी बनाएको छ भने गलत क्रियाकलाप नियन्त्रणमा पनि सहयोग पुगेको छ। प्रणाली सञ्चालन गर्न ६१ वटै वडाका अध्यक्ष र सचिवलाई अनलाइन सिफारिस प्रणालीसम्बन्धी तालिम र अन्तर्क्रिया गरिएको प्रशासनले जनाएको छ।

प्रशासनले सेवा सरलीकरणका लागि नागरिक बडापत्र, क्यूआर कोड र सफ्टवेयर उपकरणसमेत लागू गरेको छ। सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयमा हुलाक डेस्क स्थापना गरिएको छ, जसले हुलाक टिकटका लागि टाढा जानुपर्ने बाध्यता हटाएको छ।

अनलाइन प्रणाली सुरु गरेका स्थानीय तहमध्ये नौगाड गाउँपालिकाका सबै छ वडाले सेवा सुरु गरेका छन्। महाकाली नगरपालिकाका नौमध्ये पाँच वडा (१, २, ४, ७ र ८) र शैल्यशिखर नगरपालिकाका पाँच वडा (१, ५, ६, ८ र ९) बाट सेवा सञ्चालनमा आएको छ। शैल्यशिखरका चार वडामा इन्टरनेट कमजोर भएकाले प्रणाली सञ्चालन हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले बताए।

मालिकार्जुन गाउँपालिकाका आठ वडामध्ये सात वडाले, दुहूँ गाउँपालिकाका पाँच वडामध्ये दुई वडाले (४ र ५), अपि हिमाल गाउँपालिकाका छ वडामध्ये दुई वडाले (२ र ४), व्यास गाउँपालिकाका छ वडामध्ये वडा नम्बर ४ ले, मार्मा गाउँपालिकाका छ वडामध्ये वडा नम्बर ३ र ५ ले तथा लेकम गाउँपालिकाका छ वडामध्ये वडा नम्बर १, ५ र ६ ले अनलाइन सिफारिस सेवा सुरु गरेका छन्।

प्रजिअ पौडेलका अनुसार अनलाइन सिफारिस प्रणालीले सरकारी सेवा कागजरहित र प्रविधिमैत्री बनाउने लक्ष्य लिएको छ। “पहिले कागजात नमिले प्रशासनमा पुगेर सेवाग्राही फर्किनुपर्ने अवस्था अब समाप्त भएको छ,” उनले भने।

यससँगै प्रशासनले सेवा गाउँमै पुगोस् भन्ने उद्देश्यले व्यास, लेकम र अपि हिमाल गाउँपालिकामा घुम्ती शिविर सञ्चालन गरेको छ। सहायक प्रजिअ मोहनसिंह धामीको नेतृत्वमा गएको टोलीले अशक्त, अपाङ्गता भएका र ज्येष्ठ नागरिकलाई नागरिकता, प्रतिलिपि र राष्ट्रिय परिचयपत्र सेवा गाउँमै उपलब्ध गराएको प्रशासनले जनाएको छ।

प्रकाशित मिति : ७ कार्तिक २०८२, शुक्रबार  २ : ०६ बजे