महोत्तरी । तिहार पर्वको समापनसँगै तराई–मधेससहित देशभर छठ पर्वको तयारी तीव्र बनेको छ। मिथिला क्षेत्रका नदी, पोखरी र तलाउहरूमा सरसफाइ तथा घाट निर्माणका काम धमाधम भइरहेको छ।
जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव रायका अनुसार मिथिलाको प्रमुख धार्मिक पर्वका रूपमा मानिने छठका लागि स्थानीय बासिन्दा जुट्न थालेका छन्। सूर्य भगवान् र छठी माताको पूजा पानीमै गरिने परम्परा भएकाले पोखरी तथा नदी किनारमा सरसफाइ, खाल्डाखुल्डी पुर्ने र सडक मर्मतका काम भइरहेको जलेश्वर–८ का वडाध्यक्ष विजयकुमार सिंहले जानकारी दिए।
जलेश्वर नगरपालिका–८ स्थित पाठकपोखरीमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण तथा पानीमै तैरिने बाटो बनाउने कार्य भइरहेको छ। करिब ५०० मिटर लम्बाइको गुफा शैलीको पण्डाल र बत्ती जडानको तयारी भइरहेको छठ पूजा समितिका संयोजक केशव झाले बताए।
यस्तै, जलेश्वर–१ को वरुण सरोवरमा पनि ठूलो पण्डाल, साजसज्जा र बत्ती जडानको काम भइरहेको वडाध्यक्ष अनिल झाले जानकारी दिए।
छठ पर्वका लागि मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायतका नदी तथा जलाशयहरूमा पनि तयारी तीव्र बनेको जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्णले बताए।
मिथिलाञ्चलमा छठलाई निष्ठा र श्रद्धाको पर्वका रूपमा मनाइने भएकाले स्थानीयले एक साताअघि नै तयारी सुरु गरेको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले बताए।
प्रतिक्रिया