नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लामा पछिल्लो दुई महिनाको अवधिमा जापानिज इन्सेफलाइटिसका कारण चार जनाको मृत्यु भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउन २० देखि असोज महिनासम्म संक्रमणका कारण चार जनाको ज्यान गएको हो।
कार्यालयका प्रयोगशाला प्राविधिक निरीक्षक डिल्लीराम तिवारीका अनुसार हुप्सेकोट गाउँपालिका–१ की १३ वर्षीया बालिका, बौदिकाली गाउँपालिका–२ की ४५ वर्षीया महिला, मध्यविन्दु नगरपालिका–१ का ५२ वर्षीय पुरुष र कावासोती–३ का ६७ वर्षीय पुरुषको मृत्यु भएको हो।
मृतकहरूको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा जापानिज इन्सेफलाइटिस पुष्टि भएको जनाइएको छ। तिवारीले परीक्षणको नतिजा ढिला आउने भएकाले उपचारमा ढिलाइ हुँदा ज्यान जाने अवस्था आउने बताए।
उनका अनुसार हालसम्म जिल्लामा १४ जना संक्रमितमध्ये नौ जना निको भएका छन्, एक जना उपचाररत छन् भने चार जनाको मृत्यु भइसकेको छ। संक्रमितमध्ये कावासोती नगरपालिकामा ६ जना, मध्यविन्दुमा ४ जना तथा हुप्सेकोट, बौदिकाली, गैँडाकोट र देवचुली नगरपालिकामा एक/एक जना रहेका छन्।
तिवारीले संक्रमण सर्ने क्युलेक्स जातको लामखुट्टे प्रायः साँझ र बिहान सक्रिय हुने र धानबाली तथा पानी जम्ने क्षेत्र संक्रमणको उच्च जोखिममा पर्ने बताए। संक्रमित व्यक्तिमा मस्तिष्क सुन्निने, बेहोस हुने, पक्षाघात हुने लगायत गम्भीर लक्षण देखिन सक्ने र मृत्यु दर करिब ३० प्रतिशतसम्म पुग्न सक्ने जनाइएको छ।
उनले यो रोग संक्रमित हाँस, कुखुरा र सुंगुरजस्ता जनावरलाई टोकेका लामखुट्टेबाट मानिसमा सर्ने भए पनि मानिसबाट मानिसमा भने नसर्ने बताए।
कावासोती नगरपालिका स्वास्थ्य शाखाका सिनियर अहेब अधिकृत पारेश्वर भुर्तेलले सबैभन्दा बढी संक्रमण कावासोतीमा देखिएको जनाउँदै रोग न्यूनीकरणका लागि स्थानीय टोल सुधार समिति, जनप्रतिनिधि, विद्यालय, विद्यार्थी र नागरिक समाजमार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
उनले लामखुट्टेको टोकाइबाट जोगिन पशु खोर बस्तीभन्दा टाढा राख्न, झुल प्रयोग गर्न, पानी जम्न नदिने, र लामो बाहुलाको लुगा लगाउनेजस्ता उपाय अपनाउन आग्रह गरेका छन्।
प्रदेश जनस्वास्थ्य कार्यालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा १२ जना संक्रमित हुँदा चार जनाको मृत्यु भएको थियो भने गत आर्थिक वर्ष २०८१/८२ मा तीन जना संक्रमित भएका थिए।
प्रतिक्रिया