Logo

मुख्य समाचार

गगन थापा तिहारमा पनि सार्वजनिक कार्यक्रमहरूमा सहभागी नहुने



काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा तिहारका अवसरमा हुने सार्वजनिक कार्यक्रमहरूमा सहभागी नहुने भएका छन्। यसअघि दशैंका कार्यक्रममा समेत सहभागी नहुने निर्णय गरेका थापाले तिहारका कार्यक्रमहरूबाट पनि आफू अलग रहने जनाएका हुन्।

थापाले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै दीपावली, देउसी–भैलो र न्हु दँयाका कार्यक्रममा सहभागी हुन नसक्ने भन्दै आयोजकहरूसँग क्षमायाचना गरेका छन्।

उनले भनेका छन्, “दशैंझैं यस तिहारमा पनि उत्सवका कार्यक्रममा सहभागी नहुने भएकाले, दीपावली, देउसी–भैलो र न्हु दँयाका कार्यक्रमहरूमा सहभागी हुन नसकेकोमा निम्ता गर्नु हुने सबै आयोजकहरूसँग एकमुष्ट यहीँबाट माफी चाहन्छु।”

थापाले सबैलाई दीपावली तथा न्हु दँयाको अवसरमा शुभकामना समेत दिएका छन्।

यसअघि विजयादशमीमा पनि थापाले कुनै सार्वजनिक उत्सव वा कार्यक्रममा सहभागिता जनाएका थिएनन्।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार  १२ : २७ बजे