Logo

मुख्य समाचार

बर्दियामा तेस्रोपटक गोही प्राकृतिक बासस्थानमा छाडियो


३१ आश्विन २०८२, शुक्रबार  

46
Shares

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको गोही प्रजनन केन्द्रमा हुर्केका घडियाल गोही तेस्रो पटक प्राकृतिक बासस्थानमा छाडिएको छ ।

निकुञ्ज भित्रको खौराहा खोलामा पाँच भाले र पाँच पोथी गरी १० वटा घडियाल गोही छोडिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक बुद्धि सागर पौडेल र वन्यजन्तु आरक्ष निर्देशनालयका सहायकरथी पुरन भक्त घले बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख एवं वरिष्ठ संरक्षण अधिकृत समेतको टोलीले गोहीलाई प्राकृतिक बास्थानमा छोडेको हो ।

बर्दिया निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत सरोजमणि पौडेलले छाडिएका गोही ३ देखि ८ वर्ष उमेरका रहेको बताए । हाल प्रजनन केन्द्रमा ठुला एक सय ४० र साना ७० वटागरि दुई सय १० वटा गोहीका बच्चा रहेको उनले बताए ।

बर्दिया राष्ट्रिय निकुञ्जमा २०३९ सालमा गोही प्रजनन केन्द्र स्थापना गरिएको थियो । २०७२ सालदेखि घडियाल गोहीको प्रजन प्रक्रियाको सुरुवात भएको थियो ।

२०७४ सालमा गोहीलाई पहिलो पटक प्राकृतिक बासस्थानमा छाडिएको थियो । यस अघि बर्दियाको बबई नदिमा १३ र बाँकेको राप्ती ननीमा १० गरि जम्मा २३ ओटा बच्चालाई प्राकृतिक बासस्थानमा छोडिएको थियो ।

प्रजनन केन्द्रमा हाल २ भाले र ४ पोथी गरि ६ वटा प्रजनन योग्य घडियाल गोही रहेका छन्। सरकारले वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार घस्रने जन्तु घडियाल गोहीलाई संरक्षित वन्यजन्तुको सूचिमा सूचीकृत गरेको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०८२, शुक्रबार  ५ : ४२ बजे