काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग शुक्रबार परराष्ट्र मन्त्रालयमा सामूहिक भेटवार्ता गरेकी छन्।
भेटका क्रममा प्रधानमन्त्री कार्कीले नेपाल हाल गहिरो राजनीतिक परिवर्तनको महत्त्वपूर्ण चरणमा रहेको बताइन्। उनले जेनजी आन्दोलनलाई सामूहिक जिम्मेवारी, सुन्ने, जवाफ दिने र सुधार गर्ने शक्तिशाली स्मरणका रूपमा व्याख्या गरिन्।
प्रधानमन्त्री कार्कीका अनुसार जेनजी आन्दोलनले राम्रो शासन, आर्थिक अवसर र सार्वजनिक जीवनमा इमानदारीप्रति जनताको गहिरो चाहना प्रतिविम्बित गरेको छ।
उनले नयाँ संविधान अंगीकार गरेयता देशले सीमित मात्र उपलब्धि हासिल गरेको उल्लेख गर्दै अब निष्क्रियताको कुनै ठाउँ नरहेको स्पष्ट पारिन्। “हामीले जनताको वैध आकांक्षाहरू पूरा गर्न फेरि समर्पित हुनैपर्छ,” उनले भनिन्।
प्रधानमन्त्री कार्कीले कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक रूपमा पहिलो पटक भेटघाट गरेकी हुन्।
प्रतिक्रिया