काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफू सरकारमा रहेको अवधिभर जानेर बुझेर नियतबस कुनै खराब काम नगर्ने बताएका छन् ।
बिहीबार श्रष्टा सम्मान एवं पुरस्कार वितरण कार्यक्रममा बोल्दै उनले मन्त्री पदमा बसेको समयमा जानेर–बुझेर नियतबस कुनै खराब काम नगर्ने भन्दै जस्तो आएको त्यस्तै जान पनि तयार भएको बताए ।
काम नै नगरेपनि कुनै काम बिगारेको दाग लिएर नजाने पनि उनको भनाई छ ।
उनले भने, ‘जिन्दगीको नयाँ मोडमा आएको छु । विशेष परिस्थितीमा विशेष भूमिकामा आउनुपरेको छ । यति चाहीं भन्न चाहन्छु–कति गर्न सकिएला पाँच महिना माथिको अवधिमा त्यो त थाहा छैन् । तर तपाईहरुलाई साक्षी राखेर भन्छु जानेर–बुझेर नियतबस खराब केही गर्ने छैन् । बरु जस्तो गएको त्यस्तै फर्किने छु । कति गरिस्, कति गरिनस् हिसावकिताव समय गर्ला । तर यति बिगारेर आएर निधारमा लगाएको दागको छिट्टा पर्यो भन्ने अवस्था आउन दिन्न । यो सम्मान ग्रहण गरि राख्दा त्यसको गरिमा राख्ने म प्रयास गर्नेछु ।’
यस्तै, उनले कार्यक्रममा उपस्थित श्रष्टाहरुको अगाडि आफू उमेर, अनुभव, विवेक र विचार सबै हिसाबले नयाँ भएको भन्दै श्रष्टाहरुले देखाएको बाटोमा सँधै हिड्न तयार रहेको बताए ।
उनले भने, ‘श्रष्टाहरुको सक्रियताले सधैँ उर्जा दिन्छ । हामीले उमेर, अनुभव, विवेक र विचार सबै हिसाबले तपाईहरुभन्दा नयाँ छौ सिक्दै छौ । त्यसैले यो देशको समृद्धिको लागि साहित्य, कला, संस्कृतिको जर्गेनाको लागि मौलिकतालाई जोगाउने अभियानको लागि जे जसरी यहाँहरु अहोरात्र खटेर लागिराख्नु भएको छ यसले नतमस्तक बनाएको छ । त्यसैले तपाईहरुले डोहोर्याएको बाटोमा सँधै हिड्न सकौं ।’
प्रतिक्रिया