सुर्खेत — नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पूर्वमन्त्री जनार्दन शर्माले पार्टी छाडे पनि माओवादी केन्द्रमा कुनै असर नपर्ने बताएकी छन्।
मंगलबार वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष केसीले शर्माले पछिल्ला दिनमा उठाएका विषयहरू गलत रहेको आरोप लगाइन्। उनले शर्मालाई पार्टीभित्रको एकता तोड्ने प्रयास नगर्न आग्रह गरिन्।
अध्यक्ष केसीले भनिन्, “हिजो बाबुराम भट्टराई, मोहन वैद्य र नेत्रविक्रम चन्दले पनि पार्टी छोडेका थिए, तर पार्टी फुटाएर जानुको कारण अझै स्पष्ट छैन। जनार्दनले पनि त्यस्तो बाटो नलिई एकता तर्फ लाग्नुपर्छ।”
उनका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध व्यक्तिगत रूपमा उत्रिनु शर्माको ठूलो कमजोरी हो। उनले भनिन्, “शर्मालाई समर्थन गर्ने साथीहरू पनि अहिले पछाडि फर्किँदै छन्। रुकुम पश्चिममा त उहाँका सहयोगीहरू क्रमशः साथ छोड्दै गएका छन्।”
पार्टीभित्र एकता नै अहिलेको आवश्यकता रहेको उल्लेख गर्दै केसीले गुटबन्दी र फुटबाट कसैलाई फाइदा नहुने बताइन्। उनले भनिन्, “यदि जनार्दनले पार्टी छाडे पनि त्यसले कुनै फरक पार्दैन। दुनियाँ गएर केही भएन, जनार्दन गए पनि केही हुँदैन।”
अध्यक्ष केसीले माओवादी केन्द्र एक भएर अघि बढे देशकै ठूलो शक्ति बन्न सक्ने दाबी गरिन्। उनले नेता तथा कार्यकर्तालाई पार्टी सुदृढीकरण र जनताको हितमा केन्द्रित हुन आग्रह गरिन्।
प्रतिक्रिया