Logo

खेलकुद

नेपाली फुटबल धराशायी हुनुमा एन्फा जिम्मेवार: खेलाडी संघको आरोप


२८ आश्विन २०८२, मंगलबार  

23
Shares

काठमाडौं । नेपाली फुटबल खेलाडी संघले नेपाली फुटबलको वर्तमान संकटपूर्ण अवस्थाको मुख्य जिम्मेवार अखिल नेपाल फुटबल संघ (एन्फा) रहेको ठहर गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै संघले एन्फा नेतृत्वले लिग सञ्चालन गर्न नसक्दा फुटबल धराशायी बनेको आरोप लगाएको हो।

संघले एन्फाको नेतृत्वमा ए, बी, र सी डिभिजन लिग एक कार्यकालमा एकपटक मात्रै सञ्चालन भएको उल्लेख गर्दै यसलाई खेलाडी र समर्थकमाथिको अन्याय भनेको छ। विज्ञप्तिमा भनिएको छ, “एन्फा नेतृत्वले क्लबहरू खेल्न तयार छैनन् र लिग गराउन सक्दैनन् भन्ने गलत धारणा बनाउन खोजिरहेको छ। तर क्लबहरूलाई जिम्मेवार बनाउने र लिगको वातावरण तयार गर्ने मुख्य जिम्मेवारी एन्फाको हो।”

खेलाडी संघले लिग सञ्चालनका लागि आधा दर्जनभन्दा बढी पटक ध्यानाकर्षण गराएको भए पनि एन्फाले गम्भीरतापूर्वक नलिएको आरोप लगाएको छ। “ओठे जवाफ बाहेक कुनै ठोस पहल गरिएको छैन,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

संघले लिग सञ्चालन गर्न नसक्ने नेतृत्व नैतिक रूपमा पदमा बस्न अयोग्य रहेको दाबी गर्दै, घरेलु लिग नहुँदा धेरै खेलाडी रोजगारीको खोजीमा विदेश पलायन हुन बाध्य भएको बताएको छ।

संघले एन्फालाई कम्तीमा ६ शीर्ष डिभिजन लिग सञ्चालन गर्ने स्पष्ट योजना सार्वजनिक गर्न र त्यसअनुसार अघि बढ्न आग्रह गरेको छ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ७ : ०४ बजे