काठमाडौं । साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४.२५ अंकले उकालो लागेर २,५४७.६० बिन्दुमा पुगेको छ। अघिल्लो दिनको तुलनामा बजारमा सुधार देखिए पनि कुल कारोबार रकममा भने गिरावट आएको छ।
आइतबार नेप्से परिसूचक ७८.८३ अंकले घटेर २,५०३.३५ बिन्दुमा झरेको थियो। सो दिन ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँभन्दा बढीको १ करोड ४३ लाख ६४ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको थियो।
तर सोमबार ३३० कम्पनीका ९९ लाख ४ हजार ८७४ कित्ता शेयर मात्रै किनबेच भए। कुल कारोबार रकम ४ अर्ब ९७ करोड ५४ लाख ८ हजार ५४५ रुपैयाँमा झरेको छ।
यस दिन सेन्सेटिभ इन्डेक्स ५.१४ अंक, फ्लोट इन्डेक्स २.६५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.९७ अंकले बढेका छन्।
नेपाल माइक्रो इन्स्योरेन्स र नेपाल रिइन्स्योरेन्स कम्पनीका शेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्दै क्रमशः १,३००.२० रुपैयाँ र १,२९९.२० रुपैयाँमा अन्तिम कारोबार भएका छन्। त्यस्तै क्रेष्ट माइक्रो लाइफ, इनर्जी नेपाल लिमिटेड र एनआरएन इन्फ्रास्टक्चरको मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ।
विपरीत रूपमा, कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य ५.२६ प्रतिशतले घट्दै १,८०० रुपैयाँमा झरेको छ भने थ्रिस्टार हाइड्रोपावरको शेयर मूल्य ४.४५ प्रतिशतले घट्दै ७३० रुपैयाँमा झरेको छ।
सोमबार कारोबार भएका सबै १३ उपसमूहको परिसूचक बढेको छ। अन्य उपसमूह सर्वाधिक ५.०१ प्रतिशतले उकालो लागेको छ। होटल तथा पर्यटन उपसमूह करिब ३.५ प्रतिशतले बढेको छ भने जलविद्युत, लगानी र व्यापार उपसमूहमा २ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।
प्रतिक्रिया