Logo

मुख्य समाचार

२० जीवित बन्धकहरूको सूचीमा विपिनको नाम समावेश नभएको जानकारी



काठमाडौं ।  हमासको सैन्य शाखाले आज रिहा हुने २० जीवित बन्धकहरूको नाम सार्वजनिक गरेको छ ।

अमेरिकाको पहलमा इजरायल र हमासबिच युद्धविराम भएपछि आज हमासको नियन्त्रणमा रहेका जीवित र मृतक बन्दीहरु रिहा गर्ने कार्यक्रम छ तर आज छाड्न लागिएका २० जनाको सूचीहरुमा विपिनको नाम छैन ।

इजरायलमा हमासद्वारा नियन्त्रणमा लिइएका विपिन जोशी भने जीवित नरहेको इजरायली सेनाका अधिकारीले जानकारी इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितलाई दिएको बीबीसीले उल्लेख गरेको छ ।

उनले आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।

उनले इजरायलका लागि नेपाली राजदूत पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् ।

अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए ।

गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो ।  

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  १२ : ३४ बजे