Logo

मुख्य समाचार

टासी ल्हान्जोममाथि लगाइएका आरोपको आदिवासी जेनजी कलेक्टिभद्वारा खण्डन



काठमाडौं – हुम्लाकी जलवायु अभियन्ता टासी ल्हान्जोममाथि सामाजिक सञ्जालमा लगाइएका आरोपहरूप्रति आदिवासी जेनजी कलेक्टिभ र जेनजी मुभमेन्ट अलायन्सले आपत्ति जनाएका छन्।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले टासी ल्हान्जोमलाई मन्त्री बनाउने चर्चा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उठाइएको विरोध र आरोपहरूलाई तथ्यहीन र कपोलकल्पित भनेका छन्।

विज्ञप्तिमा भनिएको छ, “हेर्दै नेपालीजस्तो नदेखिने, नेपाली भाषा राम्रोसँग नबोल्ने, विदेशी शक्तिद्वारा परिचालित, नक्कली नागरिकता लिएकोजस्ता आरोपहरू निराधार छन्। यस्ता आरोप नेपालको विविधता र समावेशीतालाई कमजोर बनाउने खालका छन्।”

जेनजी कलेक्टिभका अनुसार भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन एकपक्षीय राष्ट्रवादी चिन्तनविरुद्ध विविधतामा आधारित न्यायपूर्ण प्रणालीको पक्षमा भएको भन्दै आन्दोलनमा संलग्न अभियन्ताहरूमाथि भइरहेको चरित्र हत्या अस्वीकार्य रहेको जनाएको छ।

कलेक्टिभले राजनीतिक प्रक्रियामा आदिवासी जेनजी समुदायको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गर्दै टासी ल्हान्जोममाथि भइरहेका व्यक्तिगत आक्षेपप्रति तत्काल रोक लगाउन आग्रह गरेको छ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : १७ बजे