Logo

राजनीति

गगन थापाको आह्वान : कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुलाई ‘नो मोर’ भनौं



काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रमुख तीन दलका शीर्ष नेताहरुलाई सक्रिय राजनीति छाड्न आह्वान गरेका छन्। आइतबार सार्वजनिक गरिएको एक भिडियो सन्देशमार्फत थापाले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेतृत्वलाई ‘अब नो मोर’ भन्ने समय आएको बताएका छन्।

थापाले जेनजी (जनमत, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी) आन्दोलनपछि राजनीतिक संरचना नै ध्वस्त भएको दाबी गर्दै अब पुराना नेताहरुलाई बिदा गर्ने बेला आएको बताएका हुन्। “हामीले आफ्ना नेताहरुलाई सम्मान गरौँ, सहानुभूति राखौँ, तर अब तीनै पार्टीका नेताहरुलाई स्पष्ट भन्न सक्नुपर्छ– नो मोर,” थापाले भने।

उनले प्राविधिक कारण देखाएर नेतृत्व परिवर्तन रोक्ने प्रयासको विरोध गर्दै कांग्रेसभित्र समेत नेतृत्व परिवर्तन गर्नुपर्ने बताए। “टेक्निकल कारण देखाएर उहाँहरू हट्न चाहिरहनुभएको छैन, हामीले पनि हटाउन सकिरहेका छैनौँ,” उनले भने।

महामन्त्री थापाले भदौ २२ को घटनालाई परिवर्तनको निर्णायक मोडका रूपमा लिँदै त्यसअघि र पछिको नेपाल फरक रहेको बताए। “के भदौ २२ अघिको र पछिको नेपाल एउटै हो?” भनी प्रश्न गर्दै उनले संसद् र सरकारको वैधानिकता नै संकटमा परेको टिप्पणी गरे।

भदौ २२ को संसद् आक्रमणका घटनामा कांग्रेस सभापति शेरबहादुर देउवा प्रति सहानुभूति नराखिएको आरोपको खण्डन गर्दै थापाले आफू र महामन्त्री विश्वप्रकाश शर्माले भदौ २५ मै घटनाको निन्दा गरेको स्मरण गराए।

“हामी स्वयं पनि बालबाल बाँच्यौँ। कर्तव्यको रूपमा मात्र होइन, विश्वासका रूपमा त्यस्तो आक्रमणको विरोध गरेका थियौँ,” उनले स्पष्ट पारे।

थापाले कांग्रेस मात्र नभई एमाले र माओवादीका कार्यकर्ताहरुलाई समेत आफ्ना शीर्ष नेताहरुलाई परिवर्तनको सन्देश दिन अपिल गरे। “अब तपाईंहरूबिना हामी पार्टी चलाउँछौँ भनेर भन्न सक्नुपर्छ,” उनले भने।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ७ : ०२ बजे