काठमाडौं – भन्सार छल्दै अवैध रूपमा भेप (इलेक्ट्रिक सिगरेट) मार्फत सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई शनिबार बिहान ललितपुरको खुमलटारस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीका अनुसार महराले भन्सार छलेर ल्याइएको भेपमा रहेको सुनबाट आपराधिक लाभ उठाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। उनीमाथि करिब ८ करोड ५५ लाख रुपैयाँ बराबरको सुनको कारोबारमा संलग्न भएको आरोप लगाइएको छ।
महरामाथि भन्सार ऐन, २०६४ र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। यसअघि सोही प्रकरणमा उनी हाजिरी जमानीमा छुटेका थिए। तर थप अनुसन्धानका लागि थुनामै राख्नुपर्ने देखिएपछि पुनः पक्राउ गरिएको सीआईबीले जनाएको छ।
सन् २०२३ डिसेम्बर २५ (२०७९ पुस १०) मा फ्लाई दुबईको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक ली हानसोङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई सुटकेसभित्र ७३ बट्टामा राखिएको ७३० थान भेप ल्याएका थिए। ती भेपमा सुन प्रयोग गरिएको पुष्टि भएपछि जफत गरिएको थियो। सो प्रकरणमा महराको संलग्नता देखिएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी राखेको छ।
प्रतिक्रिया