बाजुरा । कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहानीले बाजुराका कृषकले उत्पादन गरेका स्याउ बजारिकरण गर्न थालिएको बताएका छन् ।
विशेषगरी बाजुराको स्वामिकार्तिक, जगन्नाथ र बुढिनन्दा नगरपालिकामा उत्पादित स्याउ देशका ठुला शहरमा निर्यात गर्न थालिएको बताएका हुन् ।
ढुवानी नहुँदा चिन्तामा परेका कृषकहरुलाई ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदानमा प्रक्रिया पुगेका कृषकहरुका स्याउ कर्णाली करिडोर हुँदै जिल्ला बाहिर निर्यात गर्न थालिएको उनले बताए ।
कृषकहरुले स्याउ बजारीकरणको लागि दिएको निवेदनका आधारमा प्रक्रिया पुर्याएका कृषकहरुका स्याउ निर्यात गरिएको हो । सुदूरपश्चिम प्रदेश सरकारको वार्षिक विनियोजित बजेट अन्तर्गत कृषि ज्ञान केन्द्र बाजुराको ढुवानी अनुदान कार्यक्रममार्फत कार्य निर्यात कार्य थालिएको ज्ञानकेन्द्र प्रमुख साहनीले बताए ।
स्वामिकार्तिक र जगन्नाथमा उत्पादित दुई ट्रक स्याउ धनगढी र तीन ट्रक स्याउ सुर्खेत पु¥याई बिक्री वितरण कार्य सुरु भएको उनको भनाइ छ ।
ज्ञान केन्द्रको ढुवानी अनुदानमा पहिलो चरणमा स्वामिकार्तिक खापर गाउँपालिका र जगन्नाथ गाउँपालिकाबाट करिब पाँच सय क्विन्टल स्याउ जिल्ला बाहिर निर्यात गरिएको उनले बताए ।
स्वामिकार्तिक र जगन्नाथ पश्चात् बुढिनन्दा नगरपालिकाको पाण्डुसैनमा उत्पादित स्याउ बजारिकरण गरिने भएको छ ।
कृषि ज्ञान केन्द्र बाजुराले ४ बर्ष यता कृषकको बारीबाटै ढुवानी अनुदानसहित स्याउ जिल्ला बाहिर पठाउँदै आएको छ । अहिले स्याउ ढुवानी भइरहेको हुँदा कार्तिक पहिलो हप्ता पछि जिल्लाबाट निर्यात भएको स्याउको परिणाम थाहा हुने बताए ।
बाजुरामा गत बर्षको भन्दा यो बर्ष स्याउ उत्पादन घट्ने अनुमान गरिएको छ । बाजुरामा स्याउ उत्पादन हुने जम्मा ४२५ हेक्टर क्षेत्रफल रहेकोमा दुई सय हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ जहाँ जम्मा १ हजार ६ सय मेट्रिकटन स्याउ उत्पादन हुने गरेको छ ।
बाजुरामा फुजी, गोल्डेनरेड, डेलिसियस र स्थानीय जातको स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको हिमाली,स्वामिकार्तिक,जगन्नाथ,बुढिनन्दा,गौमुल लगायतका पालिकामा स्याउ उत्पादन हुने गरेको छ ।
हरेक बर्ष बाजुरामा राम्रो मात्रामा स्याउ उत्पादन भए पनि समयमै ढुवानी नहुँदा कुहिने गरेका छन् । कतिपयले बजारिकरण गर्न नसक्दा स्याउ काटेर गाइबस्तुलाई समेत दिने गरेका छन् ।
प्रतिक्रिया