सर्लाही । रौतहटको गुजरा नगरपालिका – २, कटानी टोलबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार राति र आइतबार बिहान गरी छुट्टाछुट्टै समयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार शनिबार राति करिब ९ः३० बजे विशेष सूचनाको आधारमा प्रहरी टोलीले काठमाडौंका २० वर्षीय कोमन गुरुङ र सिन्धुलीका २१ वर्षीय मनिष घलानलाई नियन्त्रणमा लिएको थियो ।
खानतलासीका क्रममा घलानको पाइन्टको गोजीभित्र कालो प्लास्टिकमा बेरेर लुकाइएका ९ किलो ३०० ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरूको बयानका आधारमा प्रहरीले आइतबार बिहान करिब सोही समयमा कटानी टोलकै ४० वर्षीय ज्ञानबहादुर थिङ (उर्फ सञ्जु) र २० वर्षीय आजत अन्सारीलाई पनि पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सञ्जु थिङको घरमा खानतलासी गर्दा स–साना २० पुरिया (करीब १.८६० ग्राम) ब्राउन सुगरजस्तो पदार्थ, ‘नाईट्राज्मा’ लेखिएका १३ वटा ट्याबलेट र नगद ६५ हजार १ सय रुपैयाँ बरामद गरिएको थियो ।
इलाका प्रहरी प्रमुख डिएसपी रुपा लाबुङका अनुसार बरामद लागु औषधको प्रारम्भिक परीक्षण भइरहेको छ । पक्राउ परेका चारै जनामाथि लागूऔषध (नियन्त्रण) ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया