Logo

मुख्य समाचार

वीरगञ्ज भन्सारबाट दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व, पेट्रोलियम पदार्थबाट सबैभन्दा बढी



वीरगञ्ज (पर्सा)। वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा कुल ३९ अर्ब १५ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। कार्यालयले सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट उठाएको छ।

भन्सार कार्यालयका अनुसार सो अवधिमा २६ अर्ब ३३ करोड रुपैयाँ खर्चिएर पाँच प्रकारका पेट्रोलियम पदार्थ आयात गरिएको थियो। त्यसबाट ११ अर्ब १८ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ, जुन कुल राजस्वको २८.५६ प्रतिशत हो।

कार्यालय प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले पेट्रोलियम पदार्थ र सवारीसाधनको आयात भन्सार राजस्वको मुख्य स्रोत रहेको बताए। “यहाँको भन्सार आयातमा निर्भर छ। त्यसमा पनि पेट्रोलियम पदार्थ र सवारीसाधनको हिस्सा महत्त्वपूर्ण छ,” उनले भने।

सवारीसाधन र तिनका पार्टपुर्जाबाट ६ अर्ब १४ करोड रुपैयाँ (१५.६८%) राजस्व सङ्कलन भएको छ। त्यस्तै, फलाम तथा फलामबाट बनेका सामग्रीबाट २ अर्ब ५४ करोड रुपैयाँ (६.४९%) र कपडाबाट १ अर्ब ९८ करोड रुपैयाँ (५.०६%) राजस्व उठाइएको छ।

वीरगञ्ज भन्सार नेपालको एक प्रमुख भन्सार नाका हो, जहाँबाट हुने आयातले संघीय राजस्वमा उल्लेख्य योगदान पुर्‍याउने गरेको छ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ११ : ३८ बजे