काठमाडौं – नेपालले आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनल अन्तर्गत समूह चरणको दोस्रो खेलमा जापानलाई पाँच विकेटले पराजित गर्दै समूह ‘बी’को विजेता बनेको छ। यस जितसँगै नेपालले सुपर–६ चरणमा स्थान सुरक्षित गरेको हो।
शुक्रवार ओमानको अल अमेरतमा सम्पन्न खेलमा जापानले दिएको १३२ रनको लक्ष्य नेपालले १८ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो। नेपालका ओपनर आसिफ सेखले सर्वाधिक ३८ रन बनाए भने गुल्सन झाले अविजित २८ रन जोडे। कुशल भुर्तेलले २७, कप्तान रोहितकुमार पौडेलले १८ र दीपेन्द्रसिंह ऐरीले १४ रनको योगदान दिए।
बलिङतर्फ जापानका सोमा सेल्टरले दुई विकेट लिए। रियो साकुरानो थोमस, सबारिस रविचन्द्रन र डेक्लान सुजुकीले एक/एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १३१ रन बनायो। जापानका ओपनर तथा कप्तान केन्डेल फ्लेमिङले सर्वाधिक ६० रन जोडे। उनले ४६ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे। एस्मान रहमानले ३१ रनको योगदान दिए। यी दुईबीच दोस्रो विकेटका लागि ८६ रनको साझेदारी भएको थियो।
तर मध्यक्रमका ब्याटरले लय कायम राख्न नसक्दा जापान ठूलो स्कोर बनाउन असफल भयो। अन्तिम ६ ओभरमा नेपालका बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै मात्र २९ रन खर्चिए।
नेपालका बलर सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र नन्दन यादवले समान एक/एक विकेट लिए।
नेपालले यसअघि पहिलो खेलमा कुवेतलाई ५८ रनले पराजित गरेको थियो। दुई जितसहित नेपाल समूह विजेता बन्दा जापान पनि एक जितका साथ उपविजेता बनेर सुपर–६ मा प्रवेश गरेको छ।
यस प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका नौ टिम सहभागी छन्। टिमहरूलाई तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा पुग्नेछन्। सुपर–६ को शीर्ष तीन टिमले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान बनाउनेछन्।
प्रतिक्रिया