काठमाडौं । लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग शुक्रबार दिउँसोदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ।
संघीय राजधानी काठमाडौंलाई वाग्मती, मधेस र कोसी प्रदेशका जिल्लासँग जोड्ने यो राजमार्ग असोज १७ देखि अवरुद्ध भएको थियो। बाढीपहिरोले काभ्रे र सिन्धुलीका १३ स्थानमा करिब चार किलोमिटर सडक क्षति पुर्याएको थियो।
संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेका अनुसार क्षतिग्रस्त सडक अस्थायी रूपमा मर्मत गरी एकतर्फी सञ्चालनमा ल्याइएको हो। राजमार्ग आइतबारदेखि दुईतर्फी सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
रोशीखोलामा डाइभर्सन निर्माण, बगर मिलाउने र खाल्डा पुरेर सडक खुलाइएको छ। सोमबारदेखि मर्मत कार्य सुरु गरिएको थियो। काभ्रेको चौकीडाँडामा सबैभन्दा बढी क्षति पुगेको जनाइएको छ।
काभ्रेका कटुञ्जे, चारसयबेँसी, चिउरीबास, मंगलटार (बोक्सीकुना), कालढुंगा, पिप्ले (माथिल्लो र तल्लो), मान्ती (माथिल्लो र तल्लो) लगायतका स्थानमा सडक क्षति पुगेको थियो। त्यस्तै, सिन्धुलीका बालुवा, आँपघारी र नेपालथोक (झोलुंगे पुल) क्षेत्रमा पनि सडक क्षति भएको कार्यालयले जनाएको छ।
प्रतिक्रिया