Logo

समाचार

कटहरिया नगरपालिकामा करार कर्मचारीको आन्दोलन


२४ आश्विन २०८२, शुक्रबार  

46
Shares

रौतहट । लामो समयदेखि बक्यौता तलब तथा सेवा सुविधा नपाएको भन्दै कटहरिया नगरपालिकामा कार्यरत करार तथा ज्यालादारी कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले धर्ना संगै  नगरपालिकाको १ देखि ९ नम्बर वडासम्मका सम्पूर्ण कार्यालयहरूमा तालाबन्दी पनि  गरेका हुन् ।

तालाबन्दीका कारण  नियमित प्रशासनिक कामकाज प्रभावित भएको छ । कटहरिया वडा नम्बर ८ का कर्मचारी मुकुन्द यादवले सबै वडाका कर्मचारीहरूले सामूहीक रूपमा तालाबन्दी गर्दै कार्यालयका साँचो (चाबी) आ–आफ्नो जिम्मामा राखेको जानकारी दिए ।

यसैगरी, वडा नम्बर १ मा कार्यरत करार कर्मचारी मुकेश कुशवाहाले आफूहरूको माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए । यस अघि संयुक्त रूपमा नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएको भएपनि मागको बेवास्ता भएको उनीहरुको गुनासो छ ।

जसमा तलब तथा सेवा सुविधाको तुरुन्त भुक्तानीको माग गरिएको थियो । तर, नगरपालिकाले पटक–पटक आश्वासन मात्र दिँदै आएको भन्दै उनीहरू आन्दोलित भएका हुन् । नगर प्रमुख अजय प्रकाश जयसवालले तिहार अघि नै करार कर्मचारीको समस्या समाधान गरिने जानकारी दिए ।

उनले कर्मचारीहरूले मागेका आवश्यक कागजात बुझाएमा तलब उपलब्ध गराउने प्रक्रिया अगाडि बढाइने बताए । उनले वडा कार्यालयको तालाबन्दी खोल्न वडा अध्यक्षहरूलाई आग्रह पनि गरे ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ७ : ०९ बजे